सप्तरी । सप्तरी जिल्लाको कंकालिनी नगरपालिका १ भारदहमा अवस्थित कंकालिनी भगवती मन्दिर पूर्वी नेपालकै प्रसिद्ध धार्मिक गन्तव्यका रूपमा परिचित छ । काठमाडौंबाट करिब ३२२ किलोमिटर पूर्व र पूर्व-पश्चिम राजमार्गसँगै कोशी पश्चिमी तटबन्ध नजिक अवस्थित यो मन्दिरमा दैनिक रूपमा भक्तजनको भीड लाग्ने गर्दछ ।
‘कंकालिनी दर्शन’ पुस्तकमा उल्लेख भएअनुसार, भारदहको वैरवा गाउँका चर्चित महात्मा उदयानन्द प्रसाद अर्याललाई सपनामा भारदह नजिकै रहेको ठूलो पीपलको रुखमुनि भगवतीसहित विभिन्न देवी–देवताका मूर्ति रहेको दर्शन भएको थियो ।
सोही सपना अनुसार उनले गाउँलेहरूसँग छलफल गरेपछि सबै मिलेर पीपलको रुखमुनि उत्खनन गर्दा कंकालिनी भगवतीसहित कालभैरव, बटुक भैरव, दक्षिणकाली, श्रीविष्णु, श्रीगणेश र महादेवका मूर्ति फेला परेका थिए ।
फेला परेका ती मूर्तिहरूलाई सोही स्थानमा विधिपूर्वक स्थापना गरेपछि कंकालिनी भगवती मन्दिरको धार्मिक महत्त्व झनै बढ्दै गएको मानिन्छ । हाल मन्दिर परिसर निकै फराकिलो छ, जहाँ मूल कंकालिनी भगवती मन्दिरसँगै अन्य देवी–देवताका मन्दिरहरू पनि निर्माण गरिएका छन् ।
विशेषगरी विजयादशमीको अवसरमा भगवतीको दर्शन र बलि अर्पण गर्न हजारौँ भक्तजन मन्दिरमा पुग्ने गर्दछन् । त्यस दिन मन्दिर क्षेत्र भक्तजनले भरिभराउ हुने गर्दछ । इतिहासविद्हरूका अनुसार, कर्नाटकी वंशीय राजा शुक्रदेव शाखडा यस क्षेत्रमा आइपुगेकै समयमा शांखडा र कंकालिनी भगवतीका मूर्ति एकै पटक स्थापना गरिएको अनुमान छ ।
दुवै मूर्तिको एकरूपता हेर्दा यसको स्थापना वि.सं. १७६० सालभन्दा अघिकै भएको विश्वास गरिन्छ । धार्मिक, ऐतिहासिक र सांस्कृतिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिने कंकालिनी भगवती मन्दिर आज पनि मधेश क्षेत्रको प्रमुख आस्थाको केन्द्रका रूपमा स्थापित छ ।




