सप्तरी । सप्तरीमा बैंकका कर्मचारीमाथि अपमानजनक व्यवहार, शरीर बन्धक तथा ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
ज्योति विकास बैंक लिमिटेडको क्लस्टर कार्यालय बर्दिवासबाट कर्जा असुलीका लागि खटिएका कर्मचारी सुनित श्रेष्ठ र सविन कुमार श्रेष्ठमाथि दुर्व्यवहार भएको घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पक्राउ पर्नेमा सप्तकोशी नगरपालिका वडा नं. ७ निवासी ५२ वर्षीय संजिव कुमार चौधरी र अग्नीसाइर कृष्णासवरण गाउँपालिका वडा नं. १ निवासी ४७ वर्षीय उमाकान्त चौधरी रहेका छन् । प्रहरीका अनुसार रुपनीस्थित बैंक शाखाबाट कर्जा लिई समयमै भुक्तानी नगरेपछि बैंक कर्जा असुली प्रक्रियामा गएको थियो ।
सोही सिलसिलामा गत मङ्सिर २४ गते दिउँसो करिब ३ बजेको समयमा कञ्चनपुर–फत्तेपुर सडक खण्डको बलारदह चोकमा बैंकका ती कर्मचारीलाई नियन्त्रणमा लिई सप्तकोशी नगरपालिका ७ स्थित सप्तकोशी इन्टिग्रेटेड एग्रो फर्म प्रा.लि.को परिसरमा लगिएको थियो ।
त्यहाँ बैंक कर्मचारीमाथि अपमानजनक व्यवहार गरिएको, कुटपिट गरिएको तथा फोटो–भिडियो बनाइएको आरोप छ । साथै, कर्मचारी सुनित श्रेष्ठले लगाएका सुनका गरगहना समेत लुटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।
घटना बारे मङ्सिर २९ गते जाहेरी दर्ता भएपछि अनुसन्धान अघि बढाइएको र त्यसकै आधारमा दुवै जनालाई पक्राउ गरिएको उनले बताए । पक्राउ परेका व्यक्तिहरूविरुद्ध अपमानजनक व्यवहार गर्न नहुने, शरीर बन्धक तथा ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा सप्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई इलाका प्रहरी कार्यालय कञ्चनपुरमार्फत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




