पर्सा । जेनजी आन्दोलनपछि संघीय सरकारले विकास बजेट रोक्का गरेसँगै चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा पर्सा जिल्लामा पुँजीगत बजेट खर्च अत्यन्तै न्यून देखिएको छ । मंसिर मसान्तसम्म जिल्लाको कुल विकास बजेटको करिब ५ प्रतिशत मात्र खर्च हुन सकेको छ ।
चालु आर्थिक वर्षमा पर्साका लागि ३ अर्ब ८७ करोड १८ लाख ९३ हजार रुपैयाँ विकास बजेट विनियोजन गरिएको छ । तर, मंसिर मसान्तसम्म जम्मा १९ करोड ३९ लाख २४ हजार ९ सय २५ रुपैयाँ ३० पैसा मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साको तथ्यांकले देखाएको छ ।
संघीय सरकार मातहतका दुई ठूला विकास सम्बन्धी कार्यालय सघन सहरी भवन निर्माण आयोजना र खानेपानी तथा ढल व्यवस्थापन कार्यालयले बजेट खर्च गर्न नसक्दा समग्र विकास खर्च न्यून बनेको जनाइएको छ ।
प्रमुख कोष नियन्त्रक मनोज जोशीका अनुसार सघन सहरी भवन निर्माण आयोजना कार्यालय वीरगन्जको बजेट २ अर्ब १३ करोड ८३ लाख ४२ हजार रुपैयाँ रहेपनि मंसिर मसान्तसम्म केवल ५ करोड २२ लाख ५६ हजार रुपैयाँ मात्र खर्च भएको छ ।
यस्तै, खानेपानी तथा ढल व्यवस्थापन कार्यालय पर्सालाई विनियोजित ८६ करोड ६४ लाख १० हजार रुपैयाँमध्ये ४ करोड ७६ लाख २१ हजार रुपैयाँ मात्र खर्च हुन सकेको छ । संघीय अर्थ मन्त्रालयबाटै बजेट रोक्का गरिएकाले बजेट फुकुवा नभएसम्म यी कार्यालयहरूले खर्च गर्न नसक्ने अवस्था रहेको जोशीले बताए ।
अन्य विकास निर्माण सम्बन्धी कार्यालयहरूको बजेट तुलनात्मक रूपमा कम रहेकाले ठूलो बजेट भएका यी दुई कार्यालयले रकम परिचालन गर्न नसक्दा जिल्लाको कुल पुँजीगत खर्च उल्लेख्य रूपमा अघि बढ्न नसकेको देखिएको छ ।






