राजविराज । सप्तरीको राजगढ गाउँपालिकामा भएको हत्यासम्बन्धी घटनामा संलग्न एक अभियुक्त बुधबार सप्तरी जिल्ला अदालतमा हाजिर भएका छन् । गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डलसहित सात जनाविरुद्ध दर्ता भएको उक्त मुद्दामा तत्कालीन बेल्ही चपेना गाविस ३ (हाल राजगढ ४) निवासी रामनारायण मण्डल अदालतमा उपस्थित भएका हुन् ।
अदालतका सूचना अधिकारी उमेशकुमार अर्यालका अनुसार रामनारायणको बयान न्यायाधीश महेन्द्रबहादुर थापा क्षेत्रीको एकल इजलासमा लिइँदै गर्दा समय अभाव भएपछि प्रक्रिया रोकिएको हो । उनले भने, “बयान पूरा भएपछि थुनछेक बहस हुनेछ । हाल अभियुक्तलाई प्रहरी हिरासतमा पठाइएको छ ।”
यो घटना ३ साउन २०५५ मा भएको थियो । त्यस दिन तत्कालीन बेल्ही चपेना गाविस–३ स्थित रामजानकी मन्दिरका पुजारी जन्त्रीदास बैरागीको हत्या भएको थियो । उक्त प्रकरणमा १५ वैशाख २०७८ मा अभियुक्तहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
पक्राउ पुर्जी जारी हुँदाहुँदै पनि अभियुक्तमध्येका ओमप्रकाश मण्डल ३० वैशाख २०७९ मा सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट राजगढ गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । उनी निर्वाचित भएको करिब १० महिनापछि, १४ फागुन २०७९ मा जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले मुद्दा मुलतबीमा राख्ने आदेश दिएको थियो ।
रामनारायण मण्डल अदालतमा उपस्थित भए पनि अध्यक्ष ओमप्रकाश मण्डल, उनका बुबा तथा तत्कालीन बेल्ही चपेना गाविसका अध्यक्ष गंगाराम मण्डल, साथै रामदेव सदा मुसहर, मनिक शर्मा, बौकाई भनिने बच्चा यादव र भोलिचन सदा मुसहर अझै फरार रहेका छन् ।
अभियोगपत्र अनुसार, मन्दिरको ११ बिघा जग्गाको धान मन्दिरलाई नदिने विषयमा अध्यक्ष ओमप्रकाशका बुबा गंगाराम मण्डलसँग विवाद चर्किएपछि हत्या भएको उल्लेख छ ।




