धनुषा । धनुषाको विदेह नगरपालिका १ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय ६० मिलिग्रामसहित १९ वर्षीय युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सबैला नगरपालिका २ निवासी राहुल ठाकुर रहेका छन् । उनलाई बिहीबार दिउँसो प्रहरी चौकी ठाडीझिझाबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित नियन्त्रणमा लिएको हो ।
यस्तै सिराहाको लहान नगरपालिका २३ गढिया चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १६ ग्राम ५ सय मिलिग्रामसहित दुई जनालाई प्रहरीले बिहीबार बेलुकी पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लहान नगरपालिका २३ का ३६ वर्षीय बिजय कुमार साह र ३१ वर्षीय सुरेन्द्र कुमार दास रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजार समेतबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागूऔषधसहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।






