सर्लाही । सर्लाहीको लालबन्दीमा गरगहना चोरी गर्ने र चोरी गरेर बिक्री गर्न ल्याइएको गहना खरिद गर्ने कार्यमा संलग्न चार जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय लालबन्दीले गहना चोरी गर्ने कार्यमा संलग्न दुई जनासहित त्यस्ता गहना किन्ने दुई जना सुनचाँदी पसल सञ्चालकलाई समेत पक्राउ गरेको हो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा मुख्य चोरी गर्ने व्यक्ति एक जना नाबालक रहेको पाइएको छ । नाबालक भएकाले प्रहरीले उनको नाम भने गोप्य राखेको छ ।नाबालकले चोरी गरेर ल्याएको गरगहना धनकौल गाउँपालिका ६ घर भई लालबन्दी नगरपालिका ७ मा डेरा गरेर बस्ने ३५ वर्षीया पिङ्कीदेवी साहले सुनचाँदी पसलमा लगेर बिक्री गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ ।
गरगहना चोरी गरेर ल्याउने नाबालक र पिङ्कीदेवी नातेदार हुन् । लालबन्दी बजार क्षेत्रमा पानीपुरी, चटपटे बेच्दै हिँड्ने पिङ्कीदेवी र गहना चोरी गरेर ल्याउने नाबालक एकैघरमा डेरा गरेर बस्ने गरेका थिए ।
यसरी चोरी गरेर ल्याइएको गरगहना बिलभर्पाइ नभए पनि खरिद गर्ने गरेको पाइएपछि प्रहरीले लालबन्दी बजारमा रहेको आरके ज्वेलर्सका सञ्चालक लालबन्दी १० चन्द्रपुरका ४२ वर्षीय रमेश विश्वकर्मा र साइरा ज्वेलर्सका सञ्चालक ३१ वर्षीय कुमार विश्वकर्मालाई पक्राउ गरेको छ ।
गरगहनाको मुख्य चोरी गर्ने व्यक्ति, सुन बिक्रीमा संलग्न महिला र सुन खरिदकर्ता चारै जनालाई चोरीसम्बन्धी कसुरमा सर्लाही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले जानकारी दिए ।
अनुसन्धानको क्रममा मङ्सिर २३ गते लालबन्दी ९ बस्तीपुरका प्रमोदकुमार लुइटेलको घरबाट चोरी भएका गरगहना चोरीमा संलग्न नाबालकको कोठाबाट बरामद भएको प्रहरी निरीक्षक जोहारीले बताए । चोरी गरिएको गरगहनामध्ये एक थान तिलहरी सुनचाँदी पसलमा लगेर १ लाख ४४ हजार रुपियाँमा बिक्री गरेको पाइएको प्रहरीले जनाएको छ ।
गरगहना चोरीमा अन्य व्यक्तिहरुको समेत संलग्नता रहन सक्ने कोणबाट अनुसन्धान गरिरहेको लालबन्दी प्रहरीले बताएको छ । पछिल्लो समय लालबन्दी, मलङ्गवालगायत स्थानका घरहरुमा बारम्बार चोरी भइरहने घटनाले सर्वसाधारणसहित प्रहरी हैरान छन् ।




