रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका १० स्थित चन्द्रनिगाहपुर–गौर सडक खण्डको बाल्चनपुरमा शनिबार साँझ ७:३० मा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
गरुडाबाट बाल्चपुर तर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याक्टरले विपरित दिशाबाट आउँदै गरेको प्रदेश २–०३–०१३ प ३०६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको तथा मोटरसाइकलमा सवार व्यक्ति घाइते भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक रुपा लाबुंगले जानकारी दिए ।
मृत्यु हुनेमा रौतहटको गढीमाई नगरपालिका ४ सुन्दरपुरका ५० वर्षीय प्रमोद साह कानु रहेका छन् । घाइते सोहि ठाउँका ६५ वर्षीय जोगेन्द्र हजरा पासवानको टाउकोमा चोट लागेर अवस्था गम्भीर रहेकाले चन्द्रपुर प्रालि अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि न्युरो अस्पताल बारा पठाइएको छ ।
घटनामा संलग्न रहेको आशङ्कामा दुई वटा ट्याक्टर नियन्त्रणमा लिइ अनुसन्धान भइ रहेको प्रहरी नायब उपरीक्षक लाबुंगले जानकारी दिए ।




