विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टर अमित यादवको उपचारका क्रममा मृत्यु भएको छ ।
सप्तरीको राजविराज नगरपालिका ९ जगदरीका स्थायी बासिन्दा शम्भु प्रसाद यादवका ३४ वर्षीय छोरा अमित यादव शनिबार कलेजको मुख्य गेट अगाडिको भागमा रहेको पाँचौँ तलाबाट खसेका थिए । उनलाई तत्काल आकस्मिक कक्षमा पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
मोरङ प्रहरीकी प्रवक्ता कोपिला चुडालका अनुसार अमित यादव नोबेल मेडिकल कलेजबाट एमबीबीएस उत्तीर्ण गरी त्यहीँ इन्टर्नसिप गरिरहेका थिए । प्रारम्भिक जानकारी अनुसार उनी केही समयदेखि स्वास्थ्य समस्याका कारण औषधि सेवन गरिरहेका थिए ।
घटनाको जानकारी पाएलगत्तै उनका बुवा घटनास्थलमा पुगिसकेका छन् । प्रहरीले घटनासम्बन्धी सबै पक्षको अनुसन्धान अघि बढाएको र थप विवरण संकलन भइरहेको मोरङ प्रहरीले जनाएको छ ।






