रौतहट । रौतहटको गौर नगरपालिका अन्तर्गत जंगलसहिया–पशुपति टोल नजिकै बचेको खोलाबाट रातको समयमा अवैध रूपमा गिटी बालुवा उत्खनन भइरहेको छ । स्थानीयवासीका अनुसार, खोलाको प्राकृतिक बहाव रोक्न निर्माण गरिएको इ्याम (बाँध) नजिकै ड्रम र ट्र्याक्टर प्रयोग गरी दिन रात उत्खनन् भइरहेको छ ।
यसबाट खोलाको गहिराइ बढ्दै गएको छ भने तटबन्ध कमजोर हुँदै गएको छ । स्थानीयवासीहरूले भविष्यमा बाढी र कटानको जोखिम उच्च भएको बताउँछन् । यस्ता गतिविधिले नजिकका बस्ती, खेतीयोग्य जमिन र सार्वजनिक संरचनामा क्षति पुर्याउने सम्भावना बढाएको छ ।
स्थानीय प्रशासन, प्रहरी र सम्बन्धित निकायलाई पटक–पटक जानकारी गराए पनि अहिलेसम्म ठोस कदम चालिएको छैन । विशेषज्ञहरूले अवैध उत्खननले वातावरणीय र सामाजिक दृष्टिले गम्भीर असर पार्ने चेतावनी दिएका छन् । पानीको बहावमा परिवर्तन हुँदा भूमि, बस्ती र वातावरणमा दीर्घकालीन जोखिम बढ्ने सम्भावना रहेको बताएका छन् ।
स्थानीय समाजसेवी तथा समुदायले अवैध उत्खनन तत्काल रोक्न र दोषीलाई कानूनी दायरामा कडा कारबाही गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन् । उनीहरूले वातावरण संरक्षण, जनसुरक्षा र कानुनी शासन कायम गर्न तुरुन्त कदम चाल्नुपर्नेमा जोड दिएका छन् ।




