सर्लाही । सर्लाही जिल्लाको भारतसँग जोडिएका सीमाना नाकाहरूमा नेपाल प्रहरी र सशस्त्र प्रहरी युनिट इन्चार्ज, घुमुवा प्रहरी र कारोबारीहरूको अपवित्र साँठगाँठका कारण तस्करी जारी रहेको स्थानीयले बताएका छन् ।
सग्राम्पुर, त्रिभुवननगर, सखुवबा, नाहर टोल, गोरखकाली, भाँडसर, बारा उधोरण, फेनहारा, सीमरा, मधुबनी, अर्नाहा, बलरा, लक्ष्मिपुर, छतौना, छनकी सेढवा लगायत दर्जनौं नाकाबाट दैनिक रुपमा धान, गहुँ, कपडा, किराना, काजु, किसमिस, फलफुलको विरुवा लगायतका सामाग्रीहरूको तस्करी भइरहेको छ ।
स्थानीयका अनुसार प्रहरी युनिट इन्चार्ज र घुमुवा प्रहरीहरूले अवैध कारोबारमा संलग्न व्यापारीहरूसँग सेटिंग गरी उनीहरूलाई मासिक रूपमा लाभांश दिँदै तस्करी गराइरहेका छन् । सो प्रक्रिया परोक्ष रूपमा माथिल्लो तहसम्म फैलिएको बताइन्छ ।
केही स्थानमा धान गोदाममा भण्डारण गरी भारततर्फ पठाइने क्रम नियमितरूपमा भइरहेको छ भने व्यापारीहरूले कपडा, खाद्यान्न तथा अन्य सामाग्रीहरूको तस्करी सञ्चालन गरिरहेका छन् । त्रिभुवननगर नाका हुँदै पनि नेपाल–भारत सीमा पार गर्ने तस्करीका गतिविधिहरू जारी रहेको छ ।
स्थानीय स्रोतका अनुसार, यो समस्या सर्लाही मात्रै नभई तराई–मधेसका अन्य जिल्लाहरूमा पनि व्यापक छ । हरेक जिल्लाबाट ठूलो परिमाणमा तस्करी भइरहेको छ, तर सम्बन्धित निकायले प्रभावकारी निगरानी गर्न नसकेको र त्यसका कारण दैनिक करोडौं रुपैयाँ राजस्व छली भइरहेको छ ।
विशेषज्ञहरूले यस्तो अवैध कार्यलाई नियन्त्रण गर्न जिम्मेवार अधिकारीहरूको सम्पत्ति तथा कारोबारको विस्तृत जाँच आवश्यक रहेको बताउँछन्, नत्र तस्करी रोक्न चुनौतीपूर्ण हुने बताएका छन् ।




