सप्तरी । सप्तरीको शिक्षा विकास तथा समन्वय इकाईले माध्यमिक शिक्षा परीक्षा (एसईई) फारमका नाममा विद्यालयबाट अवैध रकम उठाइरहेको पाइएको छ । इकाई प्रमुखको निर्देशनमा कार्यालय सहयोगीमार्फत विद्यालयबाट ५ हजार रुपैयाँसम्म रकम उठाइएको छ ।
स्थानीय स्रोतका अनुसार, रकम उठाउँदा कार्यालय सहयोगीले रसिद काट्ने गरेका छन्, तर रसिद र विवरण इकाई कार्यालयमा अभिलेखमा छैनन् । रसिदमा कार्यालयको छाप पनि नराखिएको हुँदा विद्यालयका प्रधानाध्यापकहरूले पनि यस विषयमा आवाज उठाउन सकेका छैनन् ।
इकाई कार्यालयका सूचना अधिकारीका अनुसार, “विद्यालयले रजिष्ट्रेशनको रकम बैंकमा जम्मा गरेर भौचर बुझाउने विषयको जानकारी मात्र मलाई छ । रसिद बारे कार्यालय प्रमुखसँग सोध्नुपर्ने हुन्छ,” उनले बताए । सप्तरीमा १५६ सामुदायिक र संस्थागत विद्यालय माध्यमिक शिक्षा सञ्चालनमा छन् ।
यस वर्ष १५० विद्यालयबाट ८,७०० नियमित र १,५०० जना विद्यार्थी ग्रेड वृद्धिका लागि एसईईमा सहभागी हुने तथ्यांक इकाई कार्यालयले सार्वजनिक गरेको छ । विशेषज्ञहरूले यस प्रकारको रकम उठाउने अभ्यासले पारदर्शिता र जवाफदेहितामा चुनौती निम्त्याउने भएकाले यसबारे तत्काल अनुसन्धान आवश्यक रहेको बताएका छन् ।




