रौतहट । मौसममा आएको अचानक परिवर्तनसँगै चिसो बढेपछि रौतहटको गौर नगरपालिकाभित्र सञ्चालनमा रहेका विद्यालयहरू चार दिनका लागि बन्द गरिने भएको छ ।
गौर नगर कार्यपालिकाको कार्यालयले जारी गरेको सूचनाअनुसार पछिल्ला केही दिनदेखि अत्यधिक चिसो बढेकाले विद्यालयमा अध्ययनरत बालबालिकाको स्वास्थ्य र पठनपाठनमा प्रतिकूल असर परिरहेको भन्दै सावधानी स्वरूप यो निर्णय गरिएको हो ।
सूचनामा भोलिदेखि लागू हुने गरी नगरपालिका क्षेत्रभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरू चार दिनसम्म बन्द राख्न निर्देशन दिइएको छ ।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुभाष ठाकुरद्वारा हस्ताक्षरित विज्ञप्तीमा आज बसेको प्रमुखस्तरीय बैठकको निर्णयअनुसार पुस ८ गतेदेखि ११ गतेसम्म विद्यालय बन्द रहने उल्लेख गरिएको छ ।
विज्ञप्तीमा उक्त अवधिको विदा वार्षिक बिदाबाट कट्टा हुने गरी समायोजन गरिने पनि जनाइएको छ ।




