सिरहा । लहान नगरपालिकाले नगरभित्रका दलित तथा मुसहर बस्ती लक्षित गर्दै नि:शुल्क ट्युसन कक्षा सञ्चालन गर्ने तयारी अघि बढाएको छ । नगरपालिकाको शिक्षा शाखाले ‘दलित बस्तीमा ट्युसन कक्षा सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२’ तयार गरी कार्यक्रम कार्यान्वयनतर्फ लागेको हो ।
कार्यविधि अनुसार ट्युसन कक्षाका लागि शिक्षक नियुक्त गर्न आह्वान गरिएको दरखास्तमा माग गरिएका ३५ पदका लागि करिब १५० जनाले आवेदन दिएका छन् । शिक्षा शाखा अधिकृत अमिरी यादवका अनुसार आवेदन संख्या अपेक्षाभन्दा बढी भएपछि निष्पक्ष छनोट सुनिश्चित गर्न लिखित परीक्षा लिने निर्णय गरिएको छ ।
उनका अनुसार पुस २५ गते लिखित परीक्षा सञ्चालन गरी शिक्षक छनोट गरिनेछ । यादवले शिक्षक छनोट प्रक्रियामा स्थानीय तथा सम्बन्धित समुदायका व्यक्तिलाई प्राथमिकता दिइने जानकारी दिए । छनोट हुने शिक्षकलाई मासिक १० हजार रुपैयाँ पारिश्रमिक प्रदान गरिनेछ ।
लहान नगरपालिकाका २४ वटै वडाभित्र करिब ८० टोलमा दलित तथा मुसहर बस्ती रहेका छन् । ती बस्तीमै ट्युसन कक्षा सञ्चालन गरिने र कक्षा बिहान वा बेलुका दैनिक दुई घण्टा सञ्चालन हुने शिक्षा शाखाले जनाएको छ ।
नगरपालिकाले गरेको सर्वेक्षण अनुसार ती बस्तीमा करिब एक हजार २०० जना दलित बालबालिका रहेका छन् । आगामी माघको पहिलो हप्ताबाट ट्युसन कक्षा सञ्चालन गर्ने तयारी भइरहेको र कार्यक्रम प्रभावकारी बनाउन एक जना अनुगमनकर्ता समेत खटाइने जानकारी दिइएको छ ।
लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरीका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ का लागि यो कार्यक्रम सञ्चालन गर्न ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
उनले दलित तथा मुसहर बालबालिकामा विद्यालय नियमितताको समस्या देखिएकाले ट्युसन कक्षाले पढाइमा निरन्तरता दिन सहयोग पुग्ने विश्वास व्यक्त गरे । नगरपालिकाले यस कार्यक्रममार्फत शिक्षामा पछाडि परेका समुदायका बालबालिकाको शैक्षिक स्तर सुधार गर्ने लक्ष्य लिएको जनाएको छ ।




