धनुषा । धनुषाको हँसपुर नगरपालिकामा भएको भ्रष्टाचार प्रकरणमा तत्कालीन उपप्रमुख रेणुदेवी झासहित १० जनाविरुद्ध दायर मुद्दाको सुनुवाइ सुरु भएको छ । विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासमा बुधबार पेसी तोक्दै सुनुवाइ प्रारम्भ गरिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकाको करिब ५२ लाख ७२ हजार रुपैयाँभन्दा बढी रकम हिनामिना भएको ठहर गर्दै तत्कालीन उपप्रमुख रेणुदेवी झा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामलोचन मण्डल, इन्जिनियर, लेखापाल, खरिदार तथा निर्माण व्यवसायीसहित ९ जनालाई प्रतिवादी बनाएको हो ।
आयोगका अनुसार हिनामिनाबाट राज्यलाई जम्मा ५२ लाख ७२ हजार १६८ रुपैयाँ ०३ पैसा बराबरको आर्थिक क्षति पुगेको छ । सोही आधारमा आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारीमाथि ४४ लाख ९० हजार रुपैयाँ र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रामलोचन मण्डलमाथि ७ लाख ८१ हजार रुपैयाँ बिगो दाबी गरेको छ ।
त्यसैगरी इन्जिनियर दिनेश कुमार मण्डलमाथि ३६ लाख २२ हजार रुपैयाँ, खरिदार शत्रुधन साहमाथि २८ लाख ४० हजार रुपैयाँ र तत्कालीन लेखापाल नेत्र लुंगेलीमाथि सम्पूर्ण ५२ लाख ७२ हजार रुपैयाँ बिगो दाबी गरिएको छ ।
साथै, सव–इन्जिनियर विनोद कुमार मण्डलमाथि ७ लाख ८१ हजार रुपैयाँ बिगो मागदाबी गरिएको आयोगले जनाएको छ । यस मुद्दामा अब प्रतिवादीहरूको बयान, प्रमाण परीक्षण र कानुनी बहसको प्रक्रिया अघि बढ्नेछ ।






