पर्सा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्सा बहुदरमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफा, सहलेखापाल उपेन्द्रकुमार साह र जन प्रतिबिम्ब दैनिकका प्रकाशक तथा प्रधानसम्पादक संजयकुमार साहविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ ।
आयोगका अनुसार, उनीहरूले सडक मर्मत तथा कालोपत्रे गर्ने ठेक्का प्रक्रिया गर्दा आपसी मिलेमतो गरी गैरकानूनी लाभ उठाएका थिए । विशेष गरी आर्थिक वर्ष २०८०/८१ मा स्वीकृत वार्षिक योजना अन्तर्गत बैरिया प्रवेशद्वारदेखि नगरदाहासम्मको सडक कालोपत्रको ठेक्का प्रक्रिया यस्तो मिलेमतोमा गरिएको अख्तियारको आरोप छ ।
मुद्धा दायरको विवरणअनुसार, ठेक्का बोलपत्र आव्हान नगरी नजिकको व्यक्तिलाई ठेक्का दिने, बजेट दुरुपयोग गर्ने र सार्वजनिक प्रक्रिया उल्लङ्घन गर्ने कार्यमा उनीहरू संलग्न रहेको बताइएको छ ।
त्यसैगरी, अख्तियारले प्रकाशकविरुद्ध ठगी र कागजातमा झूट्टा बिल पेस गरी ६५ हजार रुपैयाँ भुक्तानी लिएको आरोप लगाएको छ । आयोगले भन्यो कि पत्रिकामा बोलपत्रको सूचना प्रकाशित नगरी, प्रेस काउन्सिलको अभिलेखमा पनि उक्त सूचना नभएको पाइएको छ ।
अख्तियारले मुद्धा विशेष अदालतमा बुधबार दायर गरेको र आवश्यक अनुसन्धान तथा कारवाही अघि बढाइरहेको जनाएको छ ।






