महोत्तरी । महोत्तरीको बर्दिवास नगरपालिका ५ ढुङग्रे गढन्तास्थित भित्री सडकखण्डमा बुधबार साँझ भएको मोटरसाइकल दुर्घटनामा एक नाबालकसहित दुई जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।
ढुङग्रे गढन्ताबाट बर्दिवासतर्फ आउँदै गरेको प्र २–०२–००४ प ७६७६ नम्बरको मोटरसाइकल जङ्गली क्षेत्रमा अनियन्त्रित भई दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।
दुर्घटनामा बर्दिवास नगरपालिका १० भालुझोराका ३३ वर्षीय मोटरसाइकल चालक सुरेश रसाइलीकी ३५ वर्षीया श्रीमती रश्मि विक र मोटरसाइकलमै सवार उनका ५ वर्षीय भतिजा रोमन रसाइलीको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय बर्दिवासका डिएसपी विकास बमका अनुसार रश्मि विकको घटनास्थलमै मृत्यु भएको थियो । गम्भीर घाइते भएका बालक रोमन रसाइलीलाई उपचारका लागि बर्दिवासस्थित शुभ स्वस्तिक अस्पताल लगिएकोमा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
दुर्घटनामा दाहिने खुट्टा भाँचिएका मोटरसाइकल चालक सुरेश रसाइलीको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण बारे थप अनुसन्धान भइरहेको डिएसपी बमले जानकारी दिए ।




