सिरहा । सिरहाको कर्जन्हा नगरपालिका १ बल्टिया गाउँकी करिब १७ वर्षीया अविना दनुवारको हत्या भएको तीन साता बितिसक्दा पनि घटनामा संलग्न मुख्य दोषी पहिचान हुन नसक्दा पीडित परिवार र स्थानीय बासिन्दामा आक्रोश बढ्दै गएको छ ।
गत मङ्सिर २२ गते कर्जन्हा नगरपालिका २ बन्दीपुरस्थित नेपाल राष्ट्रिय फूलकुमारी माध्यमिक विद्यालय नजिकैको झाडीमा अविनाको शव फेला परेको थियो । तर, घटनाको यति लामो समय बितिसक्दा समेत अभियुक्त सार्वजनिक नहुँदा परिवारले न्याय नपाएको गुनासो गरेका छन् ।
मृतककी आमा दयावती दनुवारले छोरी गुमाउनुको पीडामाथि दोषी नसमातिँदा थप अन्याय भोग्नुपरेको बताइन् । “छोरीको हत्या भएको छ, तर दोषी अझै खुलेको छैन । पहुँच भएकाको कुरा चाँडै सुनिन्छ, हामी जस्ताको आवाज कसैले सुन्दैन,” उनले पीडा पोखिन् ।
स्थानीय वासीका अनुसार अविनाको शव अर्धनग्न अवस्थामा फेला परेकाले बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ । यस विषयमा कर्जन्हा १ का वडाध्यक्ष फणीन्द्रप्रसाद पोखरेलले अनुसन्धानमा भइरहेको ढिलाइ प्रति चिन्ता व्यक्त गर्दै दोषीलाई तत्काल पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाउन माग गरे ।
यता जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले घटनाको अनुसन्धान जारी रहेको जानकारी दिए । उनले गम्भीर प्रकृतिको घटनालाई ध्यानमा राख्दै विभिन्न कोणबाट सूक्ष्म अनुसन्धान भइरहेको र प्रमाणका आधारमा मुख्य अभियुक्तसम्म पुग्ने प्रयास भइरहेको बताए ।






