बर्दिवास । मधेश प्रदेशमा फैलिँदै गएको शीतलहरले जनजीवनसँगै स्वास्थ्य क्षेत्रमा समेत प्रत्यक्ष असर पारेको छ । चिसो हावा, बाक्लो कुहिरो र सिरेटो जाडोका कारण विभिन्न स्वास्थ्य समस्या लिएर अस्पताल पुग्ने बिरामीको सङ्ख्या उल्लेखनीय रूपमा बढ्दै गएको बर्दिवास र जलेश्वरस्थित अस्पतालहरूले जनाएका छन् ।
स्वास्थ्यकर्मीका अनुसार जाडोको प्रभाव सबैभन्दा बढी ज्येष्ठ नागरिक र बालबालिकामा देखिएको छ । बर्दिवास अस्पतालमा हाल दैनिक ७० जनाभन्दा बढी चिसो सम्बन्धी समस्या भएका बिरामी उपचारका लागि आउने गरेका छन् ।
अस्पतालका चिकित्सक डा. रितेस घिमिरेका अनुसार जाडो बढेसँगै रुघाखोकी र निमोनियाका मात्रै दैनिक ४० भन्दा बढी बिरामी अस्पताल पुग्ने गरेका छन् । त्यसका अतिरिक्त दम, श्वासप्रश्वास तथा हाडजोर्नी सम्बन्धी समस्या लिएर ३० भन्दा बढी बिरामी आउने गरेका छन् ।
पछिल्लो समय मुटु सम्बन्धी समस्या भएका बिरामीको सङ्ख्या पनि बढ्दै गएको उनले जानकारी दिए । डा. घिमिरेका अनुसार शीतलहरको मौसम मुटुरोगीका लागि जोखिमपूर्ण हुने भएकाले अहिले बर्दिवास अस्पतालमा दैनिक पाँचदेखि सात जना मुटुका बिरामी उपचारका लागि आउने गरेका छन् ।
यस्तै, जलेश्वरस्थित प्रादेशिक अस्पतालमा पनि चिसोका कारण बिरामीको चाप बढेको छ । अस्पतालका चिकित्सक डा. विकास शाहले जाडो बढेसँगै ज्येष्ठ नागरिकमा रक्तचाप, शरीर कठ्याङ्ग्रिने तथा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको बताए । बालबालिकामा भने रुघाखोकी, निमोनिया र भाइरल सङ्क्रमणका केसहरू बढेका छन् ।
डा. शाहका अनुसार हाल जलेश्वर प्रादेशिक अस्पतालको बाह्यरोगी सेवा (ओपिडी) मा दैनिक ८० देखि ९० जना र आकस्मिक कक्षमा २० देखि २५ जना गरी प्रतिदिन सयभन्दा बढी बिरामी आउने गरेका छन् ।
यसैबीच, नि:शुल्क औषधीको अभावले बिरामीलाई थप समस्या पारेको अस्पतालले जनाएको छ । प्रादेशिक अस्पतालमा उपलब्ध निःशुल्क औषधीमध्ये करिब ५० प्रतिशत मात्र स्टकमा रहेको डा. शाहले बताए । बर्दिवास अस्पतालमा भने हालै औषधी आपूर्ति भएकाले चिसो सम्बन्धी बिरामीलाई उपचारमा खास समस्या नभएको डा. घिमिरेले जानकारी दिए ।
मधेश प्रदेश स्वास्थ्य तालिम केन्द्रका चिकित्सक डा. राजीव झाका अनुसार शीतलहरका बेला शरीरको तापक्रम असामान्य रूपमा घट्दा ‘हाइपोथरमिया’ को जोखिम बढ्ने गर्छ । यस अवधिमा श्वासप्रश्वास सङ्क्रमण, दम, रुघाखोकी, उच्च रक्तचाप, कान दुख्ने तथा भाइरल सङ्क्रमणजस्ता समस्या देखिन सक्ने उनले बताए ।
डा. झाले अत्यावश्यक काम बाहेक चिसो समयमा घरबाहिर ननिस्कन, न्यानो कपडा प्रयोग गर्न र झोलिलो तथा पोसिलो खानपानमा विशेष ध्यान दिन सर्वसाधारणलाई आग्रह गरेका छन् ।




