विराटनगर । नेपाल विद्युत प्राधिकरण विराटगर वितरण केन्द्रले प्रथम चौमासिकसम्ममा विद्युत महसुल नबुझाउने २४९ जना उपभोक्ताको लाइन काटेको छ ।
विराटनगर वितरण केन्द्रका अनुसार सो अवधिसम्म उपभोक्ताबाट ३ करोड ४६ लाख ७६ हजार ५५१ रुपैयाँ महसुल बक्यौता उठाउन बाकीँ रहेको नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख राम उदगार शाहले जानकारी दिए ।
प्राधिकरणले बक्यौता रकम मध्ये मंसिर मसान्तसम्ममा ग्राहकबाट १ करोड ५८ लाख ४१ हजार ३०० रुपैयाँ किस्ताबन्दी मार्फत असुल गरेको जनाएको छ ।
साथै प्राधिकरणले बाँकी बक्यौता रहेका उपभोक्ताको लाइन काट्ने प्रक्रिया निरन्तर जारी रहेको र समयमै आफूले बुझाउनु पर्ने विद्युत महशुल प्राधिकरणलाई बुझाउन आग्रह गरेको छ ।
वितरण केन्द्र प्रमुख शाहले समयमै विद्युत महसुल बुझाउन उपभोक्तालाई अनुरोध बारम्बार गरिएको तर अटेर गरेर विद्युत महशुल नबुझाउने ग्राहकको पहिचान गरि लाइन काट्ने कार्यलाई तिव्रता दिएको जानकारी दिए ।






