सर्लाही । नेपाली कांग्रेस सर्लाहीमा आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रिया परिवार केन्द्रित बनेको तथ्य बाहिर आएको छ । सर्लाही क्षेत्र नं. ४ बाट एउटै परिवारका तीन जनाको नाम उम्मेदवारका रूपमा सिफारिस गरिएको छ ।
हाल प्रदेश सभा सदस्य रहेका वीरन्द्र प्रसाद सिंहको नाम प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ सिफारिस गरिएको छ । उनका भतिजा सुधिर कुमार सिंहको नाम पनि प्रत्यक्षतर्फ सिफारिस गरिएको छ, जुन उमेर नपुगेकाले नियमअनुसार विवादास्पद छ ।
यसैगरी सुधिरकी आमा र वीरन्द्र प्रसाद सिंहकी सहोदर भाउजु बेबी सिन्हालाई समानुपातिकतर्फ उम्मेदवार सिफारिस गरिएको थियो । केन्द्रीय निर्देशन र पार्टीको मापदण्डको स्पष्ट उल्लङ्घन भएको ठहर गरिएको छ ।
पार्टीका केन्द्रीय सचिव कृष्णप्रसाद पौडेलले मंसिर १८ गते जारी गरेको परिपत्रमा प्रदेश सभामा बहाल रहेका नेताहरूलाई प्रतिनिधिसभा उम्मेदवार नबनाउन निर्देशन दिएका थिए । गत मंसिर २३ गते क्षेत्र नं. ४ मा भएको बैठकले यी नामहरू सिफारिस गरेको थियो ।
बैठकपछि पार्टी भित्र विवाद चुलिएको र सम्भावित विरोधका कारण सिफारिस सूची गोप्य राखिएको थियो । तर पछि पार्टीले निर्वाचन आयोगमा समानुपातिकतर्फ बन्दसूची बुझाउँदा यो सूची बाहिरिएको हो ।
सो सूचीमा सिन्हाको नाम अन्तत: देखिएको छैन । यस निर्णयलाई पार्टी मापदण्ड विपरीत ठहर गर्दै कांग्रेस महासमिति सदस्य डा. राजेश्वर सिंह कुशवाहाले केन्द्रीय समितिमा निवेदन दर्ता गराएका छन् ।
उनले सिफारिस प्रक्रियामा पारदर्शिता नहुँदा आफूले पनि उम्मेदवारी दाबी पेश गर्न नपाएको बताएका छन् । विशेषज्ञहरूले सर्लाही कांग्रेसमा देखिएको यो घटनाले उम्मेदवार छनोट प्रक्रियाको पारदर्शिता र आन्तरिक लोकतन्त्रमा प्रश्न उठाएको टिप्पणी गरेका छन् ।




