सप्तरी । हस्तान्तरण भएको आठ महिना र उद्घाटन भएको करिब तीन महिना बित्न लाग्दा पनि नवनिर्मित राजविराज बसपार्क अझै सञ्चालनमा आउन सकेको छैन । बसपार्कसम्म पुग्ने पहुँच मार्ग जीर्ण हुनु, अव्यवहारिक शुल्क निर्धारण लगायतका कारण देखाउँदै यातायात व्यवसायीले बस सञ्चालन गर्न नमानेपछि बसपार्क प्रयोगविहीन बनेको हो ।
सुविधा सम्पन्न बसपार्क सञ्चालनमा नआउँदा राजविराज नगर क्षेत्रभित्र सवारी चाप बढ्नुका साथै अव्यवस्थित पार्किङका कारण नगरको सौन्दर्यसमेत बिग्रिएको स्थानीयको गुनासो छ । बसपार्क सञ्चालन सम्बन्धी कार्यविधि त्रुटिपूर्ण रहेको भन्दै त्यसलाई सच्याए बिना बसपार्कबाट सवारी साधन नचलाइने माइव्रो राजविराज ट्राभल्स एजेन्सी प्रालिले जनाएको छ ।
नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन सप्तरीका जिल्ला इन्चार्जसमेत रहेका माइव्रो ट्राभल्स एजेन्सी राजविराजका अध्यक्ष धीरेन्द्र बर्मा (धिरु) ले प्रेस विज्ञप्ति जारी गर्दै राजविराज नगरपालिकाको स्वामित्वमा रहेको नवनिर्मित बसपार्क सञ्चालन तथा व्यवस्थापनका लागि ल्याइएको कार्यविधि २०८२ त्रुटिपूर्ण रहेको उल्लेख गरे ।
विज्ञप्तिमा नगरपालिकाले कार्यविधि निर्माण गर्दा यातायात व्यवसायी र यातायात मजदुरका प्रतिनिधिलाई सहभागी नगराइएको, साथै बसपार्क प्रवेश शुल्क, बस पार्किङ शुल्क, शौचालय शुल्क, बुकिङ काउन्टर शुल्क लगायतका दरहरू मनपरी ढङ्गले निर्धारण गरिएको आरोप लगाइएको छ ।
यातायात व्यवसायी तथा मजदुरका प्रतिनिधिलाई समेटेर छलफल गरी कार्यविधिमा देखिएका त्रुटि सच्याउनु पर्ने उनीहरूको माग छ । राजविराज नगरपालिकाले भने स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १ को उपदफा ७ बमोजिम २०८२ साल वैशाख ३१ गते बसेको कार्यपालिका बैठकबाट बसपार्क सञ्चालनका लागि कार्यविधि जारी गरेको जनाएको छ ।
गत असोज २५ गते राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविनले बसपार्क उद्घाटन गरेका थिए । बसपार्क सञ्चालनका लागि टेन्डर प्रक्रिया समेत अघि बढाइसकेको र आवश्यक परे शुल्क घटाएर भएपनि बसपार्क सञ्चालनमा ल्याइने कार्यवाहक नगरप्रमुख परविनले बताए । बसपार्क शीघ्र सञ्चालनमा नआउँदा नगरवासीले दैनिक सवारी आवागमनमा समस्या झेल्दै आएका छन् ।




