काठमाडौं । मधेश प्रदेशमा दुई दिनको मौसमी सुधारपछि पुनः शीतलहर सुरु भएको छ । पुस ४ गतेदेखि प्रकोपका रूपमा देखिएको शीतलहर केही दिन कमजोर भएसँगै जनजीवन सामान्य बन्दै गएको थियो । तर शनिबार अपराह्नदेखि पश्चिमा स्याँठ र बाक्लो कुहिरोसँगै शीतलहरको दोस्रो चरण सुरु भएपछि जनजीवन फेरि प्रभावित भएको छ ।
मौसम खुलेर दुई दिनसम्म तापक्रम २५ डिग्री सेल्सियससम्म पुगेपछि किसानहरू उखु काट्न व्यस्त भएका थिए भने गृहिणीहरू बिस्कुन सुकाउने र कपडा धुनेजस्ता काममा जुटेका थिए । शीतलहरका कारण बन्द भएका विद्यालयहरू पनि क्रमशः सञ्चालनमा आउन थालेका थिए । तर पुनः शीतलहर बढेसँगै सर्वसाधारणको दैनिकी कठिन बन्दै गएको छ ।
सडक पेटी तथा चोक चोकमा आगो ताप्नेहरूको भीड बढेको छ भने हालै चहलपहल बढ्दै गएको हाट बजार सुनसान बन्दै गएका छन् । शीतलहरको दोस्रो प्रकोपसँगै न्यूनतम तापक्रम ९ डिग्री सेल्सियससम्म झरेको छ, जसका कारण जनस्वास्थ्य, कृषि र दैनिक जीवनमा थप चुनौती उत्पन्न भएको छ ।
चिसोका कारण रक्तचाप, कठ्याङ्ग्रिने, स्वासप्रश्वास सम्बन्धी समस्या, रुघाखोकी, न्यूमोनिया, भाइरल सङ्क्रमण तथा पछिल्लो समय कोल्ड डायरियाका बिरामीसमेत बढ्दै गएका छन् । शीतलहरको असर कृषिमा समेत देखिन थालेको छ । कृषि ज्ञान केन्द्रका अनुसार चिसोका कारण आलु बालीमा ढुसीजन्य डढुवा रोग देखिन थालेको छ ।
समयमै नियन्त्रण नगरे आलु, गोलभेंडा र खोर्सानीजस्ता तरकारी बालीमा ठूलो क्षति पुग्न सक्ने चेतावनी दिइएको छ । साथै, लहरे तरकारीको बेर्ना राख्ने समयमा आवश्यक तापक्रम नपाउँदा फर्सी, लौका, घिरौँला, काँक्रा, बोडी, तीते करेला र भिण्डीको बिउ टुसाउन नसकेको किसानहरूले बताएका छन् ।
जाडोबाट अति प्रभावित विपन्न समुदाय आवश्यक सहयोगको प्रतीक्षामा रहेका छन् । यसबीच सम्बन्धित निकायहरूले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन, न्यानो कपडा लगाउन तथा चिसोबाट बच्ने उपाय अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन् ।




