काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका ६ जुरिखेतमा सुमो दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको सुमो दुर्घटनामा परेको थियो । ना १ ज १७७८ नम्बरको सुमो सडकबाट करिब १०० मिटर तल खस्दा गम्भीर घाइते भएकाहरूमध्ये ६ जनाको हेटौंडामा उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृत्यु भएका ६ जनाकै हालसम्म सनाखत हुन सकेको छैन । मृतकहरूको पहिचान खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । सुमोमा कुल ९ जना सवार थिए ।
दुर्घटनामा परी घाइते भएका अन्य ३ जनाको हेटौंडास्थित अस्पतालमा उपचार भइरहेको छ । मृतक र घाइतेहरू काठमाडौंबाट हेटौंडा आउँदै गर्दा जुरिखेतको ओरालोमा दुर्घटनामा परेका हुन् ।






