वीरगन्ज । जिल्ला प्रहरी कार्यालय, पर्साले हुण्डी कारोबारमा संलग्न तीन जनालाई १० लाख २ हजार १० रुपैयाँसहित पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले २०८२ पुस १८ गते पर्साको जगरनाथपुर गाउँपालिका ३ गडैयाटोलस्थित सडकखण्डबाट स्रोत नखुलेको हुण्डी रकमसहित तीन जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका ४ निवासी २२ वर्षीय पवन कुमार साह, ३० वर्षीय मुस्ताक अन्सारी र १९ वर्षीय रामपुकार पासवान रहेका छन् । उनीहरूको साथबाट रु १०, ०२, ०१० नगद तथा ना १६ प ३०२० नम्बरको एनएक्सजी स्प्लेन्डर मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका व्यक्तिविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ (क) अनुसार हुण्डी कारोबारसम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
प्रहरीले अवैध आर्थिक कारोबार नियन्त्रणका लागि निगरानी कडा बनाइएको बताउँदै यस्ता गैरकानुनी गतिविधिमा संलग्न नहुन सबैलाई आग्रह गरेको छ ।




