काठमाडौं । नक्कली नोटको कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले नक्कली नोट छाप्ने मेसिनसहित थप दुई जनालाई पक्राउ गरेको छ । नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले बाराबाट दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका २ का २८ वर्षीय गौरीशंकर यादव र फेटा गाउँपालिका ३ का २८ वर्षीय रविकुमार श्रीवास्तव रहेका छन् । प्रहरीका अनुसार श्रीवास्तव भारतीय नम्बर प्लेटको मोटरसाइकलमार्फत नक्कली नोट छाप्न प्रयोग हुने मेसिन तथा उपकरण नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा पक्राउ परेका हुन् ।
उनको साथबाट कम्प्युटर प्रिन्टिङ मेसिन, मोनिटर, रङ्गीन प्रिन्टर लगायत सामाग्री बरामद गरिएको प्रहरीले जनाएको छ । यसअघि प्रहरीले गोकर्णेश्वर नगरपालिका ८ स्थित अत्तरखेल चोकबाट एक हजार दरका ९३ थान नक्कली नोटसहित ६ जनालाई नियन्त्रणमा लिएको थियो ।
ती व्यक्तिमाथि गरिएको अनुसन्धानका क्रममा थप दुई जनाको संलग्नता खुलेपछि यादव र श्रीवास्तवलाई पक्राउ गरिएको हो । पक्राउ परेका दुवै जनालाई काठमाडौं प्रहरीले सार्वजनिक गरेको हो । प्रारम्भिक अनुसन्धानका क्रममा श्रीवास्तवले भारतको मोतिहारीस्थित लाला टोलको पतौना क्षेत्रमा डेरा गरी नक्कली नोट छाप्ने गरेको खुलेको छ ।
नेपालमै नक्कली नोट छाप्ने उद्देश्यले आवश्यक सामाग्री भित्र्याइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीले श्रीवास्तवको साथबाट भारतीय रुपैयाँ ५०० दरका ३१७ थान नक्कली नोट समेत बरामद गरेको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






