डडेल्धुरा । जिल्ला अस्पताल डडेल्धुराले बिहीबारदेखि आकस्मिक सेवाबाहेक अन्य सबै सेवा स्थगित गर्ने निर्णय गरेको छ । अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझामाथि मोसो दलिएको घटनाको विरोधस्वरूप उक्त निर्णय लिइएको समितिले जनाएको छ ।
बुधबार दिउँसो अध्यक्ष ओझामाथि नेकपा बहुमतका कार्यकर्ताहरूले कार्यकक्षमै मोसो दल्ने दुर्व्यवहार गरेका थिए । उक्त घटना प्रति गम्भीर आपत्ति जनाउँदै अस्पताल विकास समितिले दोषीलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।
समितिद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “घटनाले अस्पतालका कर्मचारीहरूको मनोबल कमजोर बनाएको छ । दोषीमाथि कारबाही नहुँदासम्म २४ पुसदेखि आकस्मिक सेवा बाहेकका अन्य सबै सेवा बन्द गरिनेछ ।”
यद्यपि, आवश्यक सेवा सञ्चालन ऐनअनुसार अस्पतालजस्ता संवेदनशील क्षेत्रमा बन्द र हड्ताल गर्न नपाइने व्यवस्था रहेको छ । अध्यक्ष ओझाका अनुसार चार जना युवाहरू अस्पतालले उपलब्ध गराउने सेवा सुविधा बारे जानकारी लिन आएको भन्दै कार्यकक्षमा प्रवेश गरी दुर्व्यवहारमा उत्रिएका थिए ।
यस घटना बारे जानकारी दिँदै प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले मोसो दल्ने चारै जनाको पहिचान भइसकेको र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने बताए ।






