सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ३ सकरपुरामा निर्माण गरिएको सुविधा सम्पन्न १५ शय्याको अस्पताल भवन डेढ वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । १४ करोड रुपैयाँ लागतमा बनेको उक्त अस्पताल भवन हालसम्म प्रयोगविहीन अवस्थामा छ ।
२०७९ वैशाख २१ मा सम्झौता भई २०८१ वैशाख १४ गते निर्माण कार्य सम्पन्न भएको अस्पताल भवन अझै गाउँपालिकाले औपचारिक रूपमा जिम्मा नलिँदा सञ्चालनमा आउन नसकेको हो । सघन शहरी तथा भवन निर्माण आयोजना, सप्तरीका अनुसार भवन हस्तान्तरणका लागि पटक पटक पत्राचार गर्दा पनि पालिकाबाट चासो देखाइएको छैन ।
स्थानीय बासिन्दा सिताराम रायले सुविधा सम्पन्न भवन निर्माण भएर पनि अस्पताल सञ्चालनमा नआउनु दु:खद भएको बताए । उनले भने, “सरकारले ठूलो लगानी गरेको छ, तर अस्पताल सञ्चालन नहुँदा सर्वसाधारण उपचारको सुविधाबाट वञ्चित छन् ।”
आयोजनाका सूचना अधिकारी प्रमोद यादवका अनुसार भवन बुझ्नका लागि डेढ वर्षदेखि निरन्तर प्रयास भइरहेपनि जनप्रतिनिधिहरूले ‘आज–भोलि’ भन्दै विषय टार्दै आएको बताए ।
उनले अस्पताल भवन जिम्मा नलिएको विषयमा जिल्ला प्रशासन कार्यालय सप्तरीलाई जानकारी गराउने तयारी भइरहेको र त्यहाँबाट पनि सुनुवाइ नभए विभाग तथा मन्त्रालयसँग समन्वय गरी प्रक्रिया अघि बढाइने बताए ।
४२ कोठे तीन तल्ले उक्त अस्पताल भवनमा १५० केभीएको ट्रान्सफर्मर र १२६ केभीएको जेनेरेटर जडान गरी पूर्ण विद्युतीकरण गरिएको छ । भवन निर्माण सम्पन्न भएयता ठेक्का कम्पनी ‘देव एण्ड सायर र ड्राग्न जेभी, काठमाडौंले नै रेखदेख गर्दै आएको आयोजनाले जनाएको छ ।
यता गाउँपालिका अध्यक्ष अरुणकुमार मण्डलले अस्पताल सञ्चालनका लागि आवश्यक बजेट अभावका कारण तत्काल भवन जिम्मा लिन कठिनाइ भएको स्वीकार गरे । उनका अनुसार भवन जिम्मा लिएपछि सुरक्षासहित रेखदेखका लागि कर्मचारी राख्नुपर्ने भएकाले ढिलाइ भएको हो ।




