परासी । नेपाल–भारत सीमावर्ती क्षेत्रमा पछिल्लो समय बढ्दै गएको अवैध तस्करी नियन्त्रणका क्रममा सशस्त्र प्रहरीले ठूलो परिमाणको मकैसहित एक पिकअप गाडी नियन्त्रणमा लिएको छ ।
जिल्ला पश्चिम नवलपरासी (सुस्ता) गाउँपालिका ५ स्थित सकरदिनहीको दशगजा नजिकै भन्सार छलि नेपालबाट भारततर्फ लैजान लागिएको अवस्थामा मकै बोकेको पिकअप गाडी करिब ६:१० बजे नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएको पिकअप गाडीमा अन्दाजी २ हजार ९४० केजी तौल बराबरको मकै ९८ बोरा रहेको थियो, जसको अनुमानित मूल्य २ लाख ९४ हजार रुपैयाँ रहेको छ । साथै उक्त मकै ढुवानीमा प्रयोग गरिएको लु ३ च ३३२६ नम्बरको पिकअप गाडीको अनुमानित मूल्य १३ लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ । यसरी मकै र पिकअप गाडी गरी कुल १५ लाख ९४ हजार रुपैयाँ बराबरको सामग्री बरामद गरिएको हो ।
उक्त मकै र पिकअप गाडीलाई बि.ओ.पी. बलिनगरका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक पदम बहादुर पुन मगरको नेतृत्वमा खटिएको टोली र प्रहरी चौकी रामनगरको संयुक्त टोलीले नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया पूरा गरी बिहान १०:३० बजे महेशपुर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जानकारी दिए ।
यस घटनासँगै केही दिनअघि सोही नाकाबाट भारततर्फ अवैध रूपमा लहसुन ओसारपसार गरिएको आशंकामा भारतीय सीमा सुरक्षा बल (SSB) ले ठूलो परिमाणमा लहसुन नियन्त्रणमा लिएको घटनासमेत सार्वजनिक भएको थियो । उक्त लहसुन यही नाका हुँदै भारत प्रवेश गरेको हुन सक्ने आशंका गरिएपछि सीमावर्ती क्षेत्रमा भइरहेको तस्करी गतिविधि प्रति सुरक्षा निकायको चासो थप बढेको छ ।
तस्करी सम्बन्धी विषयलाई लिएर बि.ओ.पी. बलिनगरका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक पदम बहादुर पुन मगरलाई समेत सोधपुछका लागि बाहिनीमा बोलाइएको स्रोतले जनाएको छ । यसले सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि उच्च तहबाट समेत निगरानी र अनुसन्धान तीव्र पारिएको संकेत गरेको छ ।




