वीरगंज । पकाहामैनपुर गाउँपालिका ४ खेसराहामा रहेको प्रहरी चौकीले आज पनि अस्थायी टिनको छानामुनिबाट सेवा दिइरहेको छ । शान्ति सुरक्षा जस्तो संवेदनशील जिम्मेवारी बोकेको प्रहरी चौकी आफैं भने जीर्ण र उपेक्षित अवस्थामा छ ।
२०४६ सालमा निर्माण गरिएको दुई कोठे पक्की भवन अहिले प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको छ । पर्खाल चर्किएका छन्, छाना चुहिने अवस्थामा छ र भवनभित्र बस्न जोखिमपूर्ण छ । यही जीर्ण भवनमा अहिले भान्साको व्यवस्था गरिएको छ, जबकि प्रहरी बसोबास र कार्यालयका लागि प्रयोग गर्न सकिने अवस्था छैन ।
चौकीमा कार्यरत करिव आधा दर्जन प्रहरीका लागि गाउँपालिकाले चार लाख रुपैयाँको लागतमा कर्कटपाताको छानो भएको अस्थायी घर निर्माण गरेको छ । यही टिनको संरचनाबाट हाल दैनिक सेवा प्रवाह भइरहेको छ । वर्षात् र गर्मी दुवै मौसममा असहज भएपनि विकल्प नहुँदा प्रहरीले यहीँबाट काम गर्नुपरेको छ ।
स्थायी समाधानको प्रयास भने नयाँ होइन । २०७५ सालमा गाउँपालिका र वडाको संयुक्त लगानीमा नयाँ पक्की भवन निर्माण थालिएको थियो । गाउँपालिकाबाट १० लाख र वडाबाट तीन लाख रुपैयाँ गरी कुल १३ लाख रुपैयाँ विनियोजन गरी निर्माण कार्य सुरु गरिएको थियो । सो रकम टाइ–बिमसम्मको संरचना निर्माणमै खर्च भयो । तर त्यसपछि थप बजेट निकासा नहुँदा भवन अधुरै रहन पुगेको छ ।
नयाँ भवन अधुरो र पुरानो भवन जीर्ण भएपछि चौकी अस्थायी टिनको घरमै सीमित हुन पुगेको छ । दीर्घकालीन समाधान नहुँदा सुरक्षाकर्मी र सेवाग्राही दुवैले असुविधा भोगिरहेका छन् ।
पकाहामैनपुर गाउँपालिकाका अध्यक्ष सुरेश मेहताका अनुसार अधुरो संरचनालाई निरन्तरता दिनुभन्दा नयाँ स्थानमै प्रहरी चौकी भवन निर्माण गर्नु उपयुक्त हुन्छ । उनका अनुसार नयाँ भवन निर्माणका लागि करिब ३५ लाख रुपैयाँ खर्च अनुमान गरिएको छ ।
स्थानीयस्तरमा शान्ति सुरक्षाको पहिलो भरपर्दो इकाइ मानिने प्रहरी चौकी नै सुरक्षित र सुविधायुक्त नहुँदा सेवा प्रवाहमा चुनौती थपिएको छ । खेसराहाको प्रहरी चौकी कहिले स्थायी र सुरक्षित भवन पाउने भन्ने प्रश्न अझै अनुत्तरित छ ।




