रौतहट । रौतहटको परोहा नगरपालिका ७ स्थित बसिर चोकबाट लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना भारतीय नागरिकसमेत रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय गौरका अनुसार प्रहरी चौकी मोतीपुर नरकटिया र सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउट पोस्ट सरमुजवाको संयुक्त टोलीले आइतबार राति भारतबाट नेपालतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल जाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूमा भारत, बिहार राज्यको पूर्वी चम्पारण जिल्ला, मोतिहारीस्थित ग्राम पञ्चायत घोडासहन कवैया ६ का २९ वर्षीय नैतक कुमार (गोलु) तथा बारा जिल्लाको निजगढ नगरपालिका ७ का ३० वर्षीय शिखरबहादुर पुलामी मगर रहेका छन् । उनीहरू बिहार ०५ बीएल ८८४६ नम्बरको अपाचे मोटरसाइकलमा सवार थिए ।
प्रहरीका अनुसार शंकास्पद गतिविधि देखिएपछि चेकजाँच गर्दा उनीहरूको साथबाट ट्रामोल ५० लेखिएको १ हजार २ सय ६० क्याप्सुल बरामद गरिएको हो । साथै, तीन थान मोबाइल फोन र ३६ हजार रुपैयाँ नगद पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय गौरका प्रवक्ता डीएसपी विष्णुप्रदीप बस्यालले पक्राउ परेका दुवै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा जिल्ला अदालत गौरबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको जानकारी दिए ।






