सिराहा । धारामा पानी आउला भन्ने आशामा बसेका लहान नगरपालिका २३ गढाका बासिन्दाले दुई दशक बिताइसकेका छन् । करिब २० वर्षअघि सुरु भएको खानेपानी आयोजना आजसम्म सुचारु हुन नसक्दा यहाँका सयौँ परिवार अझै पनि स्वच्छ खानेपानीबाट वञ्चित छन् ।
गाउँको बीच भागमा ट्याङ्की निर्माणस्थल छ । वरिपरि पर्खालले घेरिएको करिब एक बिघा जमिन, बोरिङ, मोटर र पाइपलाइन सबै जडान भइसकेका देखिन्छन् । तर, ती संरचनाहरू प्रयोगविहीन छन् । किन पानी ननिकालिएको हो, किन काम अघि बढेन भन्ने विषयमा स्थानीय उपभोक्तालाई अहिलेसम्म स्पष्ट जानकारी दिइएको छैन ।
‘योजना आयो, पानी आएन’
स्थानीय रामविलास यादवका अनुसार २० वर्षअघि गढा गाउँ विकास समिति हुँदा नै सात सय घर परिवारलाई लक्षित गरी करिब नौ करोड रुपैयाँको लागतमा खानेपानी आयोजना अघि बनाइएको थियो । त्यसबेला तत्कालीन वडाध्यक्ष कन्हैयाप्रसाद गुप्ताको अध्यक्षतामा खानेपानी उपभोक्ता समिति गठन गरिएको थियो ।
“योजना सुरु भएको यति वर्ष भइसक्दा पनि के काम भयो, कति खर्च भयो भन्ने कुनै विवरण हामीलाई दिइएको छैन,” यादव भन्छन्, “अलपत्र परेको योजनाको हिसाब किताब सार्वजनिक होस् र हामीलाई पानी उपभोग गर्न दिइयोस् भन्ने हाम्रो माग हो ।”
उपभोक्ता समिति भन्छः जिम्मेवार निकायको ढिलासुस्तीले हुन सकेन
खानेपानी उपभोक्ता समितिका अध्यक्ष कन्हैयाप्रसाद गुप्ताले समितिमा अहिलेसम्म करिब छ लाख रुपैयाँ मात्र आएको र त्यसबाट पर्खाल निर्माण गरिएको जानकारी दिए । उनका अनुसार ओभरहेड ट्याङ्की, बोरिङ जडान लगायतका कामका लागि पटक–पटक ताकेता गर्दा पनि खानेपानी डिभिजन कार्यालय राजविराजले ढिलासुस्ती गरेको थियो ।
“एक वर्षमै सकिनुपर्ने काम तीन वर्ष लगाएर सम्पन्न गरियो,” गुप्ताले भने, “पछि लहान नगरपालिकाको पहलमा योजना नेपाल खानेपानी संस्थान लहानको जिम्मामा गयो । तर, संस्थानको बेवास्ताका कारण २०६२ सालमा सुरु भएको आयोजना अहिलेसम्म सुचारु हुन सकेन ।”
जिम्मेवारी कसको ?
खानेपानी डिभिजन कार्यालय राजविराजका प्रमुख विश्वनाथ यादव भने २०७८ सालमै कार्यालयले योजना हस्तान्तरण गरिसकेको बताए । उनका अनुसार लहान नगरपालिकाले नेपाल खानेपानी संस्थान लहान र वाटरएड अन्तर्गतको विकन परियोजनामार्फत योजना सञ्चालन गर्ने निर्णय गरेपछि डिभिजन कार्यालयले जिम्मेवारीबाट हात झिकेको हो ।
आशाको संकेत
यसबीच नेपाल खानेपानी संस्थान लहानका प्रमुख रामेशकुमार गोइतले लहान नगरपालिकाको उत्तरी भेगमा खानेपानीको गम्भीर समस्या रहेकाले प्राथमिकताका आधारमा अन्य वडामा काम अघि बढाइएको जानकारी दिए ।
उनका अनुसार चालु आर्थिक वर्षदेखि लहान २३ मा पनि खानेपानी सुचारु गर्ने तयारी भइरहेको छ । “प्राविधिक टोलीले पहिलो चरणको सर्वे सम्पन्न गरिसकेको छ,” गोइतले भन्नुभयो, “अब चरणबद्ध रूपमा काम अघि बढ्छ ।”
अझै प्रश्न बाँकी
लहान २३ मै जिल्ला समन्वय समिति सिराहाका प्रमुख दिनेश महतो र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको घर पर्छ । तर, यति लामो समयसम्म आयोजना अलपत्र पर्नुले स्थानीयमा अझै असन्तोष छ । दुई दशकदेखि पानीको प्रतीक्षामा रहेका गढाका बासिन्दाका लागि अब प्रश्न एउटै छ- यसपालि योजना कागजमै सीमित हुन्छ कि धारामा पानी बग्छ ?




