सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका ११ हिरापुर र वडा नं. १२ जियाजोरलाई जोड्ने लखन्देही खोलामाथिको निर्माणाधीन पुल बर्खाअघि नै सम्पन्न हुने भएको छ । वर्षौँदेखि पुल अभावका कारण सास्ती खेप्दै आएका स्थानीयहरू तीव्र गतिमा अघि बढिरहेको निर्माण कार्यले उत्साहित देखिएका छन् ।
खोलामा पुल नहुँदा बर्खायाममा बाढी आएपछि जियाजोर क्षेत्रका बासिन्दा लालबन्दीतर्फ आउजाउ गर्न हरिवन नगरपालिकाको बाटो प्रयोग गर्न बाध्य थिए । जियाजोरका स्थानीयले पुल निर्माण पूरा भएपछि बर्खायाममा आवागमन पूर्ण रूपमा अवरुद्ध हुने अवस्थाको अन्त्य हुने विश्वास व्यक्त गरेका छन् ।
लालबन्दी नगरपालिका १२ का वडाध्यक्ष दुर्गाबहादुर आलेले पुल सञ्चालनमा आएपछि यस क्षेत्रका बासिन्दाको दैनिकी सहज हुने बताए । उनका अनुसार जियाजोर, हिरापुर तथा हरिवन नगरपालिका १ र २ अत्रौली क्षेत्रका अधिकांश स्थानीय कृषि पेशामा संलग्न छन् ।
“यहाँका किसानले उत्पादन गरेका तरकारी सजिलै बजारसम्म लैजान पाए ठूलो राहत मिल्छ,” वडाध्यक्ष आलेले भने, “निर्माण कम्पनीले बर्खाअघि नै पुल सक्ने प्रतिबद्धता जनाएकोले हामी सबै आशावादी छौँ ।”
एमआर एण्ड ग्रुप–वाइपी ज्वाइन्ट भेन्चरले लखन्देही खोलामा पुल निर्माणको जिम्मा पाएको हो । निर्माण कम्पनीका इन्जिनियर सागर भट्टराईका अनुसार पुल निर्माणको भौतिक प्रगति करिब ८० प्रतिशत पुगिसकेको छ ।
चुरे क्षेत्र नजिकै निर्माणाधीन ४८५ मिटर लामो पुलका आठवटा स्ल्यापमध्ये छ वटा स्ल्यापको ढलानसहितको काम सम्पन्न भइसकेको छ । सातौं स्ल्यापको काम अन्तिम चरणमा पुगेको र अब आठौं स्ल्याप मात्र बाँकी रहेको कम्पनीले जनाएको छ ।
पुल निर्माणका लागि २०८३ साउनसम्म सम्पन्न गर्ने लक्ष्यसहित ७७ करोड ७८ लाख २३ हजार ९०० रुपैयाँको ठेक्का सम्झौता गरिएको छ । सम्झौता अनुसार पुल आसपास १ हजार १०० मिटर तटबन्ध निर्माण गर्नुपर्नेमा ८०० मिटर तटबन्धको काम पूरा भइसकेको इन्जिनियर भट्टराईले जानकारी दिए ।
पुलसँग जोडिने पहुँच सडक एप्रोच रोड निर्माणका लागि हाल माटो भर्ने काम तीव्र रूपमा भइरहेको छ । “कुनै अवरोध नआए र समयमै भुक्तानी भए बर्खाअघि नै सबै काम सकेर पुल हस्तान्तरण गर्ने योजना छ,” इन्जिनियर भट्टराईले भने । निर्माण कम्पनीले २०७९ माघ महिनामा ठेक्का सम्झौता गरी पुल निर्माण कार्य सुरु गरेको थियो ।




