धनुषा । जनकपुरका फरक दुई स्थानमा टिपरको ठक्करबाट भएका दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक महिला गम्भीर घाइते भएकी छिन् ।
जनकपुरधामस्थित शुभचोकमा टिपरले मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा धनुषाको क्षिलेश्वनाथ नगरपालिका रमदैयाभवाडीका ७५ वर्षीय राजकिशोर यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ज ७ प २८३७ नम्बरको मोटरसाइकलमा सवार यादवलाई शुभचोकमा ना ८ ख ८२५७ नम्बरको टिपरले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख रुगमबहादुर कुँवरले जानकारी दिए ।
त्यस्तै, जनकपुरधामको रामानन्द चोकमा टिपरको ठक्करबाट साइकलमा सवार एक महिला गम्भीर घाइते भएको कुवँरले बताए । उनका अनुसार प्रदेश २–००३१ क ०७७५ नम्बरको टिपरको ठक्करबाट मिथिला बिहारी नगरपालिका ७ तारापट्टीकी ३० वर्षीया नितु साह गम्भीर घाइते भएका हुन् ।
नितुको जनकपुरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमले जानकारी दिए ।




