बारा । सिम्रौनगढ नगरपालिकाका कर्मचारीहरूले शुक्रबार नगर क्षेत्रमा विरोध प्रदर्शन गरेका छन् । उपप्रमुखबाट प्रमुख प्रशासकीय अधिकृतमाथि दुर्व्यवहार भएको आरोप लगाउँदै कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन् ।
नगरपालिका कार्यालयबाट सुरु भएको जुलुस इलाका प्रहरी कार्यालय सिम्रौनगढ र इलाका प्रशासन कार्यालय हुँदै नगरपरिक्रमा गरी पुन: नगरपालिका कार्यालय परिसरमा पुगेर कोणसभामा परिणत भएको थियो ।
प्रदर्शनका क्रममा कर्मचारीहरूले “दमन बन्द गर”, “कर्मचारीको सुरक्षा सुनिश्चित गर” र “दोषीलाई कारबाही गर” जस्ता नारा लगाएका थिए । कोण सभामा सिम्रौनगढ नगरपालिका कर्मचारी सङ्घर्ष समितिका संयोजक सुरेशप्रसाद यादवले उपप्रमुख नजमु शेहरले प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर साह लहेरामाथि दुर्व्यवहार गरेको आरोप लगाए ।
उनले घटनामा संलग्न उपप्रमुखमाथि कारबाही नभएसम्म आन्दोलन नरोकिने स्पष्ट पारे । कर्मचारीहरूको आरोप अनुसार गत पुस २८ गते उपप्रमुख शेहरले प्रमुख प्रशासकीय अधिकृत लहेरामाथि कार्यालयमै दुर्व्यवहार गरेकी थिइन् ।
अदालतको आदेश अनुसार कार्यपालिका बैठक बसेर नगरसभाको मिति तोकिएको अवस्थामा उक्त निर्णय कार्यान्वयन नगर्न उपप्रमुखले दबाब दिएको कर्मचारीहरूको भनाइ छ । तर कार्यपालिका बैठकका निर्णय कार्यान्वयन गर्ने जिम्मेवारी नगरप्रमुखको क्षेत्राधिकारभित्र पर्ने भन्दै प्रमुख प्रशासकीय अधिकृतले असमर्थता जनाएपछि विवाद चर्किएको बताइएको छ ।
कर्मचारीहरूले उपप्रमुखले सो क्रममा गालीगलौज गर्नुका साथै हातपात समेत गरेको दाबी गरेका छन् । घटनापछि सिम्रौनगढ नगरपालिकाका कर्मचारीहरूले कार्यालयमा तालाबन्दी गर्दै अनिश्चितकालीन हडताल सुरु गरेका हुन् ।
हाल हडतालका कारण नगरपालिकासहित वडा कार्यालयहरूबाट प्रवाह हुने सेवा पूर्ण रूपमा ठप्प भएको छ । कर्मचारीहरूले यसअघि जिल्ला प्रशासन कार्यालय, बारामा पुगेर घटना बारे ध्यानाकर्षण गराए पनि माग सम्बोधन नभएपछि पाँचौँ दिन शुक्रबार सिम्रौनगढमा प्रदर्शन गर्नुपरेको बताएका छन् ।




