वीरगंज । नेपाली उद्योगमा उत्पादन हुने सनफ्लावर तेल भारतको रक्सौलमा पुन: प्याकिङ गरी कम तौल र कम मूल्यमा नेपालमै बिक्री हुँदै आएको खुलासा भएको छ । यसरी बिक्री हुने तेलले उपभोक्तालाई ठगिनुका साथै राज्यको राजस्वमा पनि प्रत्यक्ष असर परेको सरोकारवालाहरू बताउँछन् ।
पर्सा र बारामा सञ्चालित तेल उद्योगमा उत्पादन हुने अमृत, फेमिली, सुरुचि र दिव्या ब्रान्डका तेलहरूलाई भारतको रक्सौलमा लगेर पुन: प्याकिङ गरिने र त्यसपछि नेपालमा तस्करीमार्फत भित्र्याएर बिक्री गरिने गरेको व्यापारीहरूको भनाइ छ । स्रोतका अनुसार यो गतिविधि करिव एक वर्षदेखि निरन्तर भइरहेको छ ।
नेपालमा यी ब्रान्डका तेलहरू सामान्यतया ४५० ग्राम तौलमा १२५ रुपैयाँमा बिक्री हुन्छन् । तर रक्सौलमा सोही तेललाई ३५० ग्राममा प्याक गरेर १०५ रुपैयाँ मूल्य राखी बिक्री गरिँदै आएको छ । कम मूल्यमा सामान पाउने लोभमा उपभोक्ताहरू आकर्षित हुने गरेको र त्यसैको फाइदा उठाएर व्यापारीहरूले ठगी गरिरहेको बताइन्छ ।
स्थानीय व्यापारीहरूका अनुसार रक्सौलमा गरिएको पुनः प्याकिङपछि ती तेलहरू विभिन्न नाकाबाट नेपाल भित्र्याइन्छन् । अहिले वीरगंजसहित सीमावर्ती बजारमा कम मूल्यमा उपलब्ध भएका कारण धेरै नेपाली उपभोक्ता र खुद्रा व्यापारीहरू रक्सौलबाटै ती तेल खरीद गरेर ल्याउने गरेका छन् ।
एक स्थानीय व्यापारीका अनुसार, “उपभोक्ताहरू ४५० ग्रामको १२५ रुपैयाँ तिर्न चाहँदैनन्, तर त्यही तेल ३५० ग्रामको १०५ रुपैयाँमा पाइँदा सहजै किन्छन् । तौल कम भएको कुरा धेरैलाई थाहा नै हुँदैन ।”
भन्सार तथ्याङ्कले भने यी ब्रान्डका तेलहरू न त भारततर्फ निर्यात भएको देखाउँछ, न त भारतबाट नेपालमा औपचारिक रूपमा आयात भएको छ । यसले ती तेलहरू चोरबाटो मार्फत ओसारपसार भइरहेको आशंका बलियो बनाएको छ । यस्तो अवैध कारोबारका कारण भन्सार शुल्क र आन्तरिक राजस्वमा समेत उल्लेखनीय क्षति पुगिरहेको सरोकारवालाहरू बताउँछन् ।
हाल यो गोरखधन्दा मुख्यत: सनफ्लावर तेल, त्यसमा पनि अमृत, फेमिली, सुरुचि र दिव्या ब्रान्डमा सीमित देखिए पनि नियन्त्रण नभए अन्य उपभोग्य वस्तुमा पनि यस्तो प्रवृत्ति फैलिन सक्ने चिन्ता व्यक्त गरिएको छ ।
उपभोक्ता अधिकारकर्मीहरू र व्यवसायीहरूले सीमा नाकामा कडाइ, बजार अनुगमन तथा तौल–मूल्यको प्रभावकारी जाँच नगरेसम्म उपभोक्ता ठगी रोक्न नसकिने बताउँदै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।






