काठमाडौं । हेटौँडा–काठमाडौं सडक खण्ड अन्तर्गत मकवानपुरको भिमफेदीमा कार दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । भिमफेदी गाउँपालिका ६ जुरिखेतमा कार दुर्घटनामा परेको हो ।
दुर्घटनामा कार चालक काभ्रे धुलिखेल नगरपालिका ९ का ६८ वर्षीय शिवप्रसाद सिक्देल, काभ्रे मण्डलदेवपुर नगरपालिका १ का ४७ वर्षीय रामेश्वर ढकाल र काठमाडौं महानगरपालिका ३२ का ६१ वर्षीय दीपक केसी घाइते भएका छन् ।
घाइतेहरूको छाती, हात, टाउको, ढाड र अनुहारमा चोट लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुस्कर बोगटीले जानकारी दिए । हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको बा प्र ०१–०२६ च ३८९० नम्बरको कार सडकबाट करिब ३० मिटर तल खसेर दुर्घटना भएको थियो ।
घटनापछि इलाका प्रहरी कार्यालय भिमफेदीका प्रहरी निरीक्षक सन्त कुमार श्रेष्ठको नेतृत्वमा सात जना ट्राफिक प्रहरी घाइते तीन जनालाई उद्धार गरी उपचारका लागि भिमफेदी अस्पताल पठाइएको थियो । कार भने घटनास्थलमै रहेको छ ।






