काठमाडौं । काठमाडौंको रानीवारीमा एक व्यक्तिलाई धम्काएर दुई लाख ठगी गरेको आरोपमा दुई जना प्रहरी र एक जना साधारण व्यक्ति प्रहरीको निगरानीमा छन् । तीन जनामध्ये नेपाल प्रहरीको सहायक हवल्दार धिरेन्द्र विष्ट पक्राउ परेका छन् । अर्का प्रहरी जवान सुजन कार्की प्रहरीको निगरानीमा छन् ।
जिल्ला प्रहरी कार्यालय काठमाडौका प्रवक्ता पवन भट्टराईका अनुसार उनीहरूले गत पुस २५ गते रानीवारीमा एक व्यक्तिलाई धम्काएर रकम ठगी गरेका थिए । ती व्यक्तिसँग लागुऔषध प्रशस्तै भएको भन्दै रकम नदिएर प्रहरीमा मुद्दा दर्ता गरेर थुनाइ दिने भन्दै दुई लाख ठगी गरेका थिए ।
ठगी गर्ने तीन जनामध्ये सुजन कार्की घर विदामा गएको भएर पक्राउ परेका छैनन् । अर्का एक व्यक्ति फरार छन् । पक्राउ परेका विष्टविरुद्ध म्याद थप गरी अनुसन्धान भइरहेको छ । विष्ट र कार्की काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत प्रहरी कर्मचारी हुन् । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






