बारा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारा जिल्ला पचरौता नगरपालिकामा सामाजिक सुरक्षा भत्ता दुरुपयोग गरेको कसूरमा वडाध्यक्ष मकबुल मियाँ अन्सारीसहित सात जनाविरुद्ध मंगलबार विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
आयोगका प्रवक्ता सुरेश न्यौपानले पचरौता नगरपालिका ६ का वडाध्यक्ष अन्सारी, तत्कालीन वडा सचिवहरू सङ्गीता घिमिरे, पिटर थारू, राजारामप्रसाद साह र स्थानीय बासिन्दा साजुला मियाँ अन्सारी, रबेया अन्सारी र उमत मियाँ अन्सारीले मिलेमतोमा उमेर नपुगेका व्यक्तिलाई ज्येष्ठ नागरिक भत्ता दिलाएको पाइएपछि मुद्दा दायर गरिएको बताए ।
प्रवक्ता न्यौपानेले अनुसन्धानमा वास्तविक जन्म मिति हुँदा हुँदै पनि नागरिकता तथा अन्य कागजातमा झूटा विवरण पेश गरी उमेर बढाएर सामाजिक सुरक्षा भत्ता लिएको देखिएको बताए । सरकारी कोषमा हानि नोक्सानी पुर्याइ लाखौं रुपैयाँ बराबरको भत्ता लिएको प्रमाण फेला परेको उनले बताए ।
प्रवक्ता न्यौपानेले वडा कार्यालयले निवेदन दर्ता गर्दा सामाजिक सुरक्षा नियमावली, २०७६ अनुसार आवश्यक प्रारम्भिक छानबीन नगरी गैरकानूनीरूपमा वडाध्यक्षले सिफारिश गरेको देखिएको बताए । वडाध्यक्षले जानाजानी उमेर नपुगेका व्यक्तिलाई ज्येष्ठ नागरिक भत्ता उपलब्ध गराउन सिफारिश गर्नुका साथै हरेक वर्ष नवीकरण समेत गरिदिएको आरोपमा छानबीन गरिएको उनले बताए ।
उनले वडाध्यक्ष अन्सारीविरुद्ध चार लाख ७६ हजार बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद, जरिवाना र बिगो असुलउपरको मागदाबी गरेको बताए । यस्तै, अन्य प्रतिवादीहरूविरुद्ध पनि उनीहरूले लिएको भत्ता बराबरको बिगो कायम गरी कैद, जरिवाना तथा बिगो असुलको माग गरिएको प्रवक्ता न्यौपानेले बताए ।






