रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा सवारी साधन चेकजाँचका क्रममा शंकास्पद तीन वटा सवारी साधन नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार डीएल ४ सी एनबी ४३३५ नम्बरको स्कार्पियो, विआर ०६ सी एल ६५४० नम्बरको मारुती सुजुकी र डीएल ८ सी ए सी ३०३२ नम्बरको स्पोर्टस कार चेकजाँचका क्रममा फेला पारी नियन्त्रणमा लिएको हो ।
यसैबिच यमुनामाई गाउँपालिका ३ बस्ने ३१ वर्षीया नइमा खातुनले लागूऔषध डाइजेपाम बिक्री वितरण गर्ने उद्देश्यले घरमै लुकाई छिपाई राखेको विशेष सूचनाका आधारमा प्रहरीले उनको घरमा छापा मारेको थियो ।
घर खान तलासीका क्रममा कार्टुनभित्र लुकाई राखिएको अवस्थामा ठुलो परिमाणमा प्रतिबन्धित लागूऔषध नशालु ईन्जेक्सन बरामद गरिएको थियो । प्रहरीले नुर्फिन ५०० एम्पुल, फेनारागन ५०० एम्पुल, डाइजेपाम ५०० एम्पुल गरी १५ सय नशालु ईन्जेक्सन, नेपाली रुपैयाँ १,००० दरका ४ थान फेला परेको हो ।
यस्तै भारतीय रुपैयाँ २०० का २ थान, १०० का ३५ थान, नइमा खातुनको नाममा जारी भारतीय आधार कार्ड १ थान, विआर ०३० ए एच ९७८६ नम्बरको हिरो कम्पनीको स्कुटीको भारतीय सवारी दर्ता प्रमाणपत्र १ थान, मोबाइल १ थान बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालले बताए ।
प्रहरीले सबै सर सामान रितपूर्वक बरामद गरी खातुनलाई पक्राउ गरेको हो । उनलाई लागूऔषध सम्बन्धी कसुर मुद्दामा रौतहट जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ ।
प्रहरीले लागूऔषध ओसार पसार तथा अवैध गतिविधि नियन्त्रणका लागि चेकजाँच र निगरानीलाई थप कडाइ गरिएको जनाएको छ ।






