काठमाडौं । विशेष अदालतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी निलम्बित अतिरिक्त सचिव डा. संगीता कौशल मिश्रालाई पाँच लाख रुपैयाँ धरौटीमा तारेखमा राखी मुद्दा पुर्पक्ष गर्न आदेश दिएको छ ।
स्वास्थ्य सेवा विभागको तत्कालीन महानिर्देशक रहँदा स्वास्थ्य उपकरण खरिदमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत कात्तिक २ गते उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
सो मुद्दाको थुनछेक बहसपछि विशेष अदालतले मिश्रासँग पाँच लाख रुपैयाँ धरौटी माग गर्ने आदेश जारी गरेको हो । विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले उक्त आदेश दिएको हो ।
अख्तियारका अनुसार डा. मिश्राले स्वास्थ्य सेवा विभागको महानिर्देशक पदमा रहँदा अन्य प्रतिवादीहरूसँग मिलेमतो गरी म्यामोग्राफी मेसिन खरिदका क्रममा ठेक्का सम्झौताको प्रतिकूल हुने गरी सम्पूर्ण उपकरण आपूर्ति नभए पनि शतप्रतिशत भुक्तानी दिएको आरोप छ ।
यसबाट राज्यलाई १३ करोड ३७ लाख ८३ हजार रुपैयाँ भुक्तानी भएको तथा पूर्वनिर्धारित क्षतिपूर्तिबापत ६९ लाख २ हजार ५ सय रुपैयाँ बराबरको हानी–नोक्सानी पुगेको अख्तियारको दाबी छ ।
यसै आधारमा अख्तियारले कुल १४ करोड ६ लाख ८५ हजार ५ सय रुपैयाँ बिगो कायम गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सोही मुद्दामा आजको इजलासले डा. मिश्रालाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गरी तारेखमा मुद्दा लड्न आदेश दिएको हो ।






