जनकपुरधाम । मिथिला सभ्यताको केन्द्रका रूपमा चिनिने जनकपुरधाम कुनै समय ‘पोखरीहरूको सहर’ भनेर परिचित थियो । धार्मिक, सांस्कृतिक र पर्यावरणीय दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिने यहाँका दर्जनौँ ऐतिहासिक पोखरी अहिले गम्भीर संकटमा परेका छन् ।
संरक्षणको अभाव, अव्यवस्थित सहरी विस्तार र अतिक्रमणका कारण पाँचभन्दा बढी पोखरी पूर्ण रूपमा हराइसकेका छन् भने बाँकी पोखरीहरू पनि क्रमशः साँघुरिँदै गइरहेका छन् । शहरका पुराना बासिन्दाहरूका अनुसार केही दशकअघि पोखरीहरू दैनिक जीवनसँग गहिरो रूपमा जोडिएका थिए ।
नुहाउने, खाना पकाउनेदेखि धार्मिक कर्मकाण्डसम्मका लागि प्रयोग हुने पानी आज फोहोरले ढाकिएको छ । कतिपय पोखरी वरिपरि अवैध संरचना थपिँदै जाँदा भविष्यमा तिनको अस्तित्व नै समाप्त हुने खतरा देखिन थालेको छ ।
वि.सं. २०३० को दशकपछि सहरीकरणसँगै पोखरीमा फोहोर फाल्ने, डिल अतिक्रमण गर्ने र पानीको प्राकृतिक मुहान बन्द हुने क्रम बढेको स्थानीयको अनुभव छ । समयमै संरक्षण र पुनर्जीवनका उपाय नअपनाइए धेरै पोखरी इतिहासका किताबमा मात्र सीमित हुने निश्चित जस्तै देखिन्छ ।
परिक्रमा क्षेत्रभित्रका धनुषसागर, गङ्गासागर, महाराज सागर, कपालमोचनी, अग्नीकुण्ड, रामसागरलगायत पोखरीहरूको अवस्था दिनप्रतिदिन दयनीय बन्दै गएको छ । तीनै तहका सरकारले संरक्षणका नाममा ठूलो बजेट विनियोजन गरे पनि नतिजा भने देखिन सकेको छैन ।
एक समय ५२ कुट्टी र ७२ कुण्डको सहर भनेर चिनिने जनकपुरधाममा पोखरीको संख्या र क्षेत्रफल दुवै तीव्र रूपमा घटिरहेको छ । अध्ययन प्रतिवेदनहरूले स्पष्ट अभिलेख नभएपनि पछिल्ला दशकहरूमा पोखरीको संख्या उल्लेख्य रूपमा घटेको देखाएका छन् ।
उपलब्ध तथ्यांकअनुसार करिब पाँच सार्वजनिक पोखरी पूर्ण रूपमा लोप भइसकेका छन् भने धेरै पोखरी अतिक्रमणको चपेटामा परेका छन् । यदि यही अवस्था जारी रह्यो भने गङ्गासागरदेखि वाल्मीकि सरसम्मका ऐतिहासिक जलाशयहरू केवल स्मृतिमा सीमित हुने जोखिम बढ्दो छ ।
कङ्क्रिटीकरणले बिग्रँदै प्राकृतिक स्वरूप
जनकपुरधाममा पोखरी संरक्षणको नाममा अपनाइएको कङ्क्रिट संरचनाले प्राकृतिक सौन्दर्य र जलचक्रमा गम्भीर असर पारेको देखिन्छ । दशकौँअघि सुरु भएको कङ्क्रिटीकरण अहिले पनि रोकिएको छैन । डिल, टायल्स र घेराबारले पोखरीको प्राकृतिक श्वासप्रश्वास बन्द हुँदा पानीका मुहान सुक्दै गएका छन् ।
स्थानीयवासीका अनुसार यसले धार्मिक महत्त्व घट्नुका साथै वातावरणीय असन्तुलन र अत्यधिक गर्मीसमेत बढाएको छ । पछिल्लो समय उपमहानगरपालिकाले कङ्क्रिटभन्दा प्राकृतिक संरक्षणमा ध्यान दिने संकेत गरेपनि गुठी स्वामित्व र कानुनी जटिलताका कारण ठोस योजना बन्न सकेको छैन ।
विगतमा सौन्दर्यीकरणका नाममा खर्च गरिएको बजेट वातावरणमैत्री संरक्षणमा परिणत हुन नसकेको विज्ञहरूको विश्लेषण छ । कङ्क्रिट प्रयोगले वर्षाको पानी जमिनमा सोसिन नदिई भू–जल पुनर्भरणमा अवरोध पुर्याएको उनीहरूको निष्कर्ष छ ।
अतिक्रमण र अव्यवस्था
शहरका धेरै ऐतिहासिक पोखरीहरू चारैतिरबाट घेरिँदै आएका छन् । कतिपय पोखरीको ठूलो हिस्सा पुरिएर निजी घर, पसल र बस्तीमा परिणत भएको छ । सम्पदा क्षेत्रका जग्गा राज्यको अभिलेखभन्दा बाहिर निजी कारोबारमा गएको घटनाले संरक्षण झन् कठिन बनेको छ ।
यसले जनकपुरधामको सांस्कृतिक पहिचान मात्र होइन, वातावरणीय सन्तुलन र पानीको उपलब्धतामा समेत प्रत्यक्ष असर पारेको देखिन्छ । विज्ञहरूका अनुसार तत्काल अतिक्रमण रोक्ने, पोखरीको सीमा स्पष्ट गर्ने र दीर्घकालीन संरक्षण नीति लागू नगरे सहर गम्भीर जलस्रोत संकटतर्फ उन्मुख हुनेछ ।
सुख्खा चेतावनी र समाधानको खोजी
यस वर्षको ढिलो मनसुनले तराई–मधेश क्षेत्रमा देखिएको सुक्खाले पोखरी र भूमिगत पानीको महत्व झनै उजागर गरेको छ । खेतबारीमा पानी अभाव हुँदा कृषि उत्पादन जोखिममा परेको छ भने कतिपय स्थानमा पिउने पानी समेत ट्याङ्करमार्फत आपूर्ति गर्नुपरेको अवस्था देखिएको छ ।
जलवायु विज्ञहरूका अनुसार दीर्घकालीन समाधान डिप बोरिङ होइन, पोखरी, कुलो, इनार र प्राकृतिक जलाशयको पुनर्जीवन हो । मिथिला सभ्यताले विकास गरेको पोखरी–तलाउ प्रणालीलाई पुनःस्थापित गर्न सके भूमिगत जलस्तर स्थिर रहन सक्ने उनीहरूको धारणा छ ।
पोखरी केवल पानी जम्मा गर्ने संरचना नभई संस्कृति, जीवनशैली र पर्यावरणसँग जोडिएको साझा सम्पदा भएकाले संरक्षणमा सबै तहका सरकार र स्थानीय समुदाय एकजुट हुनुपर्ने आवश्यकता औँल्याइएको छ ।




