सर्लाही । सर्लाहीको मलङ्गवा नगरपालिका ३ मा दादुरा रोगको संक्रमण फैलिएको छ । मलङ्गवा ३ मा दादुरा संक्रमणबाट प्रभावित सात विरामी फेला परेका हुन् । दादुरा संक्रमण फैलिएको स्वास्थ्य कार्यालयका प्रमुख डा. नवलकिशोर झाले जानकारी दिए ।
उनका अनुसार संक्रमणको आशङ्का गरिएका २२ जनालाई उनीहरुकै घरमा निगरानीमा राखिएको छ । दादुरा रोग तीव्रगतिमा फैलिने भएकाले यसबाट बच्न आवश्यक सतर्कता अपनाउन स्वास्थ्य कार्यालयले मलङ्गवाबासीसँग अनुरोध गरेको छ ।
दादुरा रोगबाट बालबालिकालाई बचाउन र थप संक्रमण फैलिन नदिन माघ १२ गतेदेखि माघ १६ गतेसम्म मलङ्गवामा विशेष खोप अभियान सञ्चालन गरिने प्रमुख डा. झाले बताए ।
अभियान अन्तर्गत मलङ्गवा २, ३, ४, ८, ९ र १० वडाका ६ महिनादेखि १४ वर्ष उमेर समूहका बालबालिकालाई दादुराविरुद्धको खोप प्रदान गरिने मलङ्गवा नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
स्वास्थ्य शाखाले अभिभावकलाई नजिकैको खोप केन्द्रमा आफ्ना बालबालिकालाई अनिवार्य रूपमा खोप लगाउन अनुरोध गरेको छ । समयमै खोप लगाउँदा दादुराजस्तो संक्रामक रोगबाट बच्न सकिने कार्यालयको विश्वास छ ।




