सिरहा । सिरहामा जग्गा विवादमा एक जनाको ज्यान गएको छ । कर्जन्हा नगरपालिका १० स्थित मनहर्वा चोकमा भएको जग्गा विवादमा स्थानीय अजमुद्दीन शेखको ज्यान गएको हो ।
शेखको मृत्युपछि आफन्त र स्थानीयले पूर्वपश्चिम राजमार्गमा चक्काजाम गरी प्रदर्शन गरिरहेका छन् । प्रहरीले राजमार्ग खुलाउन प्रयास गरेपनि सम्भव भएको छैन । जसकारण आवागमन नै बन्द भएको छ ।
शेखका आफन्त मोहम्मद सद्दाम हुसेनका अनुसार मनहर्वा चोकको ऐलानी जग्गामा करिब ३५ वर्षदेखि सुकुम्बासी परिवार बस्दै आएका छन् । तत्कालीन समयमा फुसकै घर बनाएर बसेका उनीहरू पछिल्लो समय पक्की घर बनाइरहेका थिए ।
तर, सुकुम्बासीहरू बसोबास गरिरहेको जग्गाको पछाडिको जमिनमा भएका केही स्थानीय भने जग्गा खाली गर्न र पक्की घर नबनाउन दबाब दिँदै आएका थिए । तर, नमानेपछि स्थानीय भरोसी गाईँलगायतले अदालतबाट निषेधाज्ञा ल्याएका थिए ।
अदालतले तत्काल काम रोक्न मात्रै भनेको भए पनि भरोसीसहित स्थानीय रामदयाल साह, दिनेश महासेठ लगायतले आइतबार दिउँसो प्रहरीकै उपस्थितिमा घर तोडफोड गरेको र रोक्न खोज्दा भरोसीले अजमुद्दीनलाई कुटपिट गरेको स्थानीयले बताए ।
घटनामा संलग्नहरूको खोजी, अनुसन्धान र राजमार्ग खुलाउन प्रयास भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी राजेशराज पुरीले बताए ।




