वीरगंज । वीरगंज महानगरपालिका १५ कृष्ण प्रणामी चोकस्थित सत्यम होटलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित तीन जना पक्राउ परेका छन् ।
आइतबार साँझ वडा प्रहरी कार्यालय श्रीपुरसहित खटिएको प्रहरी टोलीले होटल तलासी गर्ने क्रममा करिव १ ग्राम २२० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा वीरगंज महानगरपालिका १५ भेडियाही निवासी २० वर्षीय सनि सर्राफ, बारा कलैया उपमहानगरपालिका २ राजदेवी टोल निवासी १९ वर्षीय अनुराग कुमार सर्राफ र पर्सा विश्रामपुर गाउँपालिका ५ निवासी १८ वर्षीय किशोर रहेका छन् ।
यसैबीच, धनुषा विदेह नगरपालिका १ हनुमान चोकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन् । आइतबार बेलुकी प्रहरी चौकी ठाडीझिझाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३२ एए ५९९२ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा करिब ४९ ग्राम ८१० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थसहित भारतको मधुवनी हल्दिया निवासी २८ वर्षीय गौतम कुमार ठाकुरलाई पक्राउ गरेको हो ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।






