सप्तरी । सप्तरीका मुख्य निर्वाचन अधिकृतको कार्यालयले आचारसंहिता विपरित जिल्लाको विभिन्न स्थानमा झुण्ड्याइएका झण्डा, पोस्टरसहितका प्रचार सामाग्री हटाउन निर्देशन दिएको छ ।
जिल्लामा आचारसंहिता उल्लङ्घन भइरहेको गुनासो बढेपछि राजविराजस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले मंगलबार राजनीतिक दलका प्रतिनिधि र उम्मेदवारसँगको छलफलपछि यस्तो निर्देशन दिएको हो ।
छलफलमा मुख्य निर्वाचन अधिकृत किशोर घिमिरेले राजनीतिक दलका प्रतिनिधि तथा उम्मेदवारलाई आचारसंहिता पालना गर्न आग्रह गर्दै आचारसंहिता विपरितका प्रचार सामाग्री २४ घण्टाभित्र हटाउन निर्देशन दिए ।
यस्तै २४ घण्टापछि अनुगमन समितिले सबै ठाउँमा अनुगमन गर्ने र आचारसंहिता पालना नभएको भेटिए कारबाही अगाडि बढाउने राजविराजस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचन आचारसंहितामा फागुन ४ देखि १८ गतेसम्म मात्र प्रचारप्रसार सामाग्री झुण्ड्याउन सकिने उल्लेख रहेको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेशकुमार जोशीले जानकारी दिए ।
छलफलमा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, राजनीतिक दलका प्रतिनिधि, उम्मेदवार र सुरक्षा निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।




