चितवन । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा नाइट बस पल्टिँदा ३८ जना यात्रु घाइते भएका छन् । दाङबाट काठमाडौं जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ०४६० नम्बरको बस आज बिहान करिब ३:१० बजे ‘घुमाउने’ भन्ने स्थानमा दुर्घटनामा परेको हो ।
दुर्घटनापछि प्रहरीले उद्धार कार्य गरी घाइतेहरुलाई उपचारका लागि विभिन्न अस्पतालमा पठाएको छ । मौलाकालिका अस्पताल भरतपुरमा १५ जना, पुरानो मेडिकल कलेज भरतपुरमा १३ जना, नयाँ मेडिकल कलेज भरतपुरमा ४ जना र जनता केयर अस्पताल मुग्लिनमा ६ जना घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घाइते मध्ये १० जनाको अवस्था माध्यम र २८ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए ।






