सर्लाही । सर्लाहीका केही भूभागमा हात्तीपाइले (फाइलेरिया) रोगको संक्रमण अझै नियन्त्रण बाहिर रहेको पुष्टि भएपछि जिल्लाका १२ वटा स्थानीय तहमा विशेष अभियानमार्फत औषधि खुवाउने कार्यक्रम सुरु गरिएको छ ।
स्वास्थ्य कार्यालय सर्लाहीका अनुसार परीक्षणमा रोग फैलिने क्रम रोकिएको नदेखिएपछि विश्व स्वास्थ्य सङ्गठन र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको समन्वयमा सामूहिक औषधि वितरणको निर्णय गरिएको हो ।
परीक्षणले देखाएको जोखिम
गत असोजमा गरिएको नमूना परीक्षणमा सर्लाहीका २० वटै पालिकालाई उत्तरी र दक्षिणी गरी दुई समूहमा विभाजन गरिएको थियो । परीक्षणका क्रममा दक्षिणी क्षेत्रका १२ पालिकामा हात्तीपाइलेको संक्रमण दर एक दशमलव आठ प्रतिशतसम्म पुगेको पाइएको छ, जुन जोखिमपूर्ण अवस्था मानिन्छ ।
परीक्षण टोलीले बलरा नगरपालिका, रामनगर, धन्कौल, बसवरिया, चक्रघट्ट, गोडैता नगरपालिका, विष्णु, कौडेना, मलङ्गवा नगरपालिका, ब्रह्मपुरी, पर्सा गाउँपालिका र हरिपुर्वा नगरपालिकामा विस्तृत परीक्षण गरेको थियो ।
रातिको परीक्षणमा सक्रिय संक्रमण
स्वास्थ्य कार्यालय मलङ्गवाका हात्तीपाइले रोग नियन्त्रण शाखा संयोजक मनोज झाका अनुसार बलरा, चक्रघट्ट र ब्रह्मपुरीबाट सङ्कलित ३०० नमूनामध्ये २८ जनामा संक्रमण पुष्टि भयो ।
तीमध्ये राति १२ बजे लिइएका नमूनामा पाँच जना सक्रिय संक्रमित फेला परेका छन् । यसको विपरीत, जिल्लाका उत्तरी क्षेत्रका बाँकी आठ पालिकामा भने संक्रमण फैलने क्रम रोकिएको पाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
घर घरमा औषधि अभियान
जोखिम देखिएका पालिकामा औषधि खुवाउने अभियान विश्व स्वास्थ्य सङ्गठन र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका चिकित्सक टोलीको प्रत्यक्ष निगरानीमा सञ्चालन भइरहेको छ । सुरुमा स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकालाई औषधि सेवन गराउने तरिका बारे तालिम दिइँदैछ ।
“तालिमपछि स्वास्थ्यकर्मी र स्वयंसेविका घर घरमै पुगेर औषधि खुवाउनेछन्,” संयोजक झा भन्छन् । उनका अनुसार मलङ्गवा नगरपालिकामा माघ ८ गतेदेखि औषधि खुवाउने काम सुरु भइसकेको छ भने अन्य पालिकामा तयारी अन्तिम चरणमा छ ।
चार लाखभन्दा बढी लक्षित
अभियान अन्तर्गत दुई वर्षभन्दा माथिका सबै नागरिकलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइनेछ । १२ स्थानीय तहका करिव ८० प्रतिशत जनसंख्या अर्थात् चार लाख ३० हजार ९४१ जनालाई औषधि खुवाउने लक्ष्य राखिएको छ । यसै सन्दर्भमा बुधबार सर्लाहीमा हात्तीपाइले रोग उन्मूलन सम्बन्धी अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरिएको थियो ।
लामखुट्टेमार्फत सर्ने रोग
हात्तीपाइले रोग क्युलेक्स जातको संक्रमित पोथी लामखुट्टेबाट मानिसमा सर्छ । मसिनो धागो आकारको परजीवी शरीरमा प्रवेश गरेपछि लामो समयसम्म लक्षण नदेखिए पनि पछि गम्भीर शारीरिक समस्या देखिन सक्छ । चिकित्सकहरूका अनुसार लामखुट्टेको टोकाइबाट शरीरमा प्रवेश गरेका परजीवीहरूले दीर्घकालमा खुट्टा, हात वा जननेन्द्रिय सुन्निने जस्ता समस्या निम्त्याउन सक्छन् ।
उन्मूलनतर्फको कदम
स्वास्थ्य अधिकारीहरूका अनुसार नियमित औषधि सेवन, जनचेतना र लामखुट्टे नियन्त्रण अभियानलाई सँगै अघि बढाउन सके सर्लाहीबाट हात्तीपाइले रोग पूर्ण रूपमा उन्मूलन गर्न सकिनेछ । त्यसका लागि समुदायको सहभागिता नै सबैभन्दा निर्णायक हुने उनीहरूको निष्कर्ष छ ।




