बारा । बाराको सिम्रौनगढ नगरपालिकामा बिहिबार राति विवादास्पद नगरसभा नाटकीयरूपमा सम्पन्न भएको छ । जिल्ला अदालतले गत पुस १५ गते नगरसभाको लागि एक महिनाभित्र बैठक डाक्न आदेश जारी गरेको थियो ।
यो आदेश उपप्रमुख नजमु शेहरले नपामा भ्रष्टाचार भएको भन्दै दायर गरेको रिटमा आधारित थियो । अदालतले कर्मचारीको तलबबाहेक अन्य आर्थिक गतिविधिमा रोक लगाएको थियो, तर नगरसभा आयोजना गर्न पुस १५ गते आदेश जारी नगरी निर्देशन दिएको थियो ।
अदालतको आदेश अनुसार नगरपालिकाको बैठक डाक्ने निर्णय नपाले गरेपनि उपप्रमुख शेहरले निर्वाचन आचारसंहिता लागू हुनु अघि पुस २८ गतेको बैठकको निर्णय कार्यान्वयन नगर्न प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर साहलाई दबाब दिएको आरोप छ ।
त्यही क्रममा उपप्रमुख शेहरले प्रमुख प्रशासकीय अधिकृतसँग दुर्व्यवहार गर्दै हातपात समेत गरेको बताइएको छ । उनका क्रियाकलापको विरोधमा कर्मचारीहरूले अनिश्चितकालीन हडताल सुरु गरेका थिए ।
तर माघ ४ गते निर्वाचन आचारसंहिता लागू भएपछि नगरप्रमुख किशोरीप्रसाद कलवारले कर्मचारीहरूलाई काममा फर्किन आग्रह गर्दा हडताल स्थगित भएको थियो । उपप्रमुख शेहरले बिहिबार दिउँसो साढे तीन बजे नगरसभा बोलाए पनि केवल पाँच जनाको सहभागिता रहेकाले बहुमत अनुपस्थित भएको कारण नगरसभा स्थगित गरिन ।
त्यसै दिन साँझ नगरप्रमुख कलवारले वडा नं ६ समितिको कार्यालयमा बहुमत सदस्यको उपस्थितिमा नगरसभा सम्पन्न गरेका छन् । नगरप्रमुख कलवारले भने, “आचारसंहिता लागू भएकाले नगरसभा बारे माथिल्लो निकायबाट आदेश पर्खिरहेको समयमा ढिला भएको कारण साँझ बैठक सम्पन्न गरिएको हो ।” नगरसभाको निर्णय र बैठकको जानकारी सम्बन्धित माथिल्लो निकायमा पठाइएको छ ।




