सप्तरी । लामो समयदेखि बेवारिसे शवको समस्या गजेन्द्रनारायण सिंह अस्पतालमा गम्भीर रूपमा देखिएको छ । जिल्लाका विभिन्न स्थानमा फेला परेका आठ वटा बेवारिसे शव चार महिनादेखि अस्पतालको पोष्टमार्टम कक्षमा राखिएका छन्, जसले अस्पतालमा व्यवस्थापन संकट उत्पन्न गरेको छ ।
अस्पतालको मेडिकल रेकर्ड मेडिको–लिगल शाखाका प्रमुख मनोज देवका अनुसार, यी शवहरू प्रहरीको पोष्टमार्टमका लागि ल्याइएको भएपनि पहिचान नहुँदा अहिलेसम्म त्यहाँ राखिएका छन् । डीफ्रीजमा राखिएका शवहरूसँग अब नयाँ शव राख्ने ठाउँ समेत छैन ।
देवका अनुसार पटक पटक सम्बन्धित निकायसँग शव व्यवस्थापनको लागि अनुरोध गरिएपनि अहिलेसम्म कुनै पहल भएको छैन । अस्पतालका चिकित्सकहरूले विद्युत कट्दा परिसरमा दुर्गन्ध फैलिने समस्या पनि औँल्याएका छन् । फेला परेका शवहरू राजविराज नगरपालिका, कञ्चनरुप नगरपालिका, विष्णुपुर र रुपनी गाउँपालिकाका विभिन्न वडाबाट आएका थिए ।
स्थानीय तहबाट अस्पतालमा पठाइएका शवहरू कञ्चनरुप नगरपालिका दुई पुरुष र एक महिला, विष्णुपुर गाउँपालिका ७ बाट एक पुरुष, रुपनी गाउँपालिकाबाट एक पुरुष, राजविराज नगरपालिका ६ बाट एक पुरुष, राजविराज १४ बाट एक बालिका र राजविराज नगरपालिका ४ बाट एक बालिका रहेका छन् ।
यी शवहरू पोष्टमार्टमका लागि प्रहरीले ल्याएको भएपनि पहिचान नहुँदा स्थानीय तह वा परिवारको तर्फबाट कसैले पनि लिएनन् । बेवारिसे शव व्यवस्थापनको जिम्मेवारी पालिकामा भएपनि सम्बन्धित पालिकाहरूले अहिलेसम्म कुनै पहल नगरेको देवले बताए । उनले प्रमुख जिल्ला अधिकारीसम्म गुहार लगाइसकिएको तर कसैले चासो नलिएको बताए । उनले अब नयाँ शव आउँदा राख्ने ठाउँ नभएको पनि बताए ।




