सिरहा । कर्तव्य ज्यान मुद्दामा संलग्न भई विगत ११ वर्षदेखि फरार रहेका एक प्रतिवादीलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । वि.सं. २०७१ सालदेखि फरार रहेका साविक औरही गाउँविकास समिति वडा नं. ८ का ५६ वर्षीय मिठु साफी धोवीलाई प्रहरीले गत माघ १५ गते गाउँघरमै लुकीछिपी बसिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
घटना विवरण अनुसार २०७१ भदौ १९ गते बिहान स्थानीय ४५ वर्षीय डोमा सदाय आफ्नै घरमा मृत अवस्थामा फेला परेका थिए । उक्त घटनाको अनुसन्धानका क्रममा मृतककी पत्नी अमोलिया देवी सदायले किटानी जाहेरी दिएकी थिइन् । अनुसन्धानबाट घटना भएको रात मिठु साफी र डोमा सदायबिच मादक पदार्थ सेवन गरी विवाद र झै-झगडा भएको तथ्य खुलेको थियो ।
हत्याको आरोप लागेपछि फरार भएका मिठुलाई जिल्ला प्रहरी कार्यालय सिरहाको टोलीले लामो समयपछि खोजतलास गरी पक्राउ गर्न सफल भएको छ । पक्राउ परेका निजलाई माघ १९ गते सिरहा जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखिएको छ । प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रमेश बहादुर पालका अनुसार अहिले घटनाको विषयमा थप कानुनी अनुसन्धान भइरहेको छ ।




